काठमाडौं ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार संसद्को बहुमतले बनेको सरकार भएको बताउनुभएको छ ।
सत्ता गठबन्धनले बिहीबार आयोजना गरेको काठमाडौं क्षेत्र नं २ को चुनावी सभामा बोल्दै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई परमादेशको सरकार भनेको भन्दै नेपालले आपत्ति जनाउनुभयो । ‘त्यो पूर्वाग्रही र पराजित मानसिकताबाट आएको भनाइ मात्रै हो’, नेपालले भन्नुभयो ।
२०७४ सालमा भएको निर्वाचनमा माओवादीसँग गरेको गठबन्धनकै कारगण एमालेलाई फाइदा भएको उहाँले बताउनुभयो । एमाले अध्यक्ष केपी ओलीले त्यो कुरालाई ढाकछोप गरेको उहाँको आरोप छ ।
ओलीले अरूले गरेको योगदानको अपमान गरेको नेपालले बताउनुभयो । ‘नेकपा एमालेले जनताको अभिमतलाई अपमान गरेको हुनाले जनताले उनीहरूलाई पराजित गर्नै पर्छ, सजाय दिनै पर्छ’, नेपालले भन्नुभयो ।
नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गफाडीको संज्ञा दिँदै एमालेले जिते देश डुब्ने बताउनुभयो । केपी ओलीले देश विखण्डनकारीसँग गठबन्धन गरेको उहाँले आरोप लगाउनुभयो । सत्ता गठबन्धन भने ऐतिहासिक गठबन्धन भएको उहाँले दाबी गर्नुभयो ।
प्रकाशित मिति २०७९ मङ्सिर १ गते बिहिबार ०५:०६