सागर ढकाल भन्छन्–बाकसहरु प्रशासनले एक्लै लिएर हिँडेको छ, आज राति सुत्न भएन

सागर ढकाल भन्छन्–बाकसहरु प्रशासनले एक्लै लिएर हिँडेको छ, आज राति सुत्न भएन

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ४ गते आईतबार ०८:०१

डडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले निर्वाचन सकिएपनि पनि बाक्साको सुरक्षा गरिनुपर्ने अवस्था रहेको भन्दै स्थानीयसँग सहयोग मागेका छन् । उनले प्रशासनले मतदान भएका बाकसहरु  एजेन्ट बिना प्रशासनले एक्लै लिएर हिँडेको...

डडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले निर्वाचन सकिएपनि पनि बाक्साको सुरक्षा गरिनुपर्ने अवस्था रहेको भन्दै स्थानीयसँग सहयोग मागेका छन् । उनले प्रशासनले मतदान भएका बाकसहरु  एजेन्ट बिना प्रशासनले एक्लै लिएर हिँडेको दाबी गर्दै सहयोग मागेका हुन् ।

‘डडेल्धुराका जनताहरु बाटो बाटोमा भिडियो, लाइभ जे हुन्छ त्यहि राखेर बस्नु पर्यो । गाडीको स्कर्टिङ हजुरहरुले नै गर्नुपर्यो’, सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘कतिपय ठाउँमा बुथको बाकसहरु कुनै पनि उम्मेदवारको एजेन्ट बिना प्रशासनले एक्लै लिएर हिँडेको छ ।

आज राति सुत्न भएन।  जंगल छ भने झन् ख्याल गर्नुपर्यो । बाटो बाटोमा बसिदिनु हुन अनुरोध।ढकालले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका हुन् ।

निर्वाचन आयोगले देशभर ६१ प्रतिशत मतदान भएको जनाएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालले केही अपवादबाहेक आम निर्वाचन २०७९ समष्टिगतरुपमा सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । समितिका अध्यक्ष प्रदिप पोखरेलले विज्ञप्ति जारी गर्दै लोकतन्त्रको संस्थागत विकासमा यो निर्वाचन अर्को एउटा कोसेढुंगो साबित हुने अपेक्षालाई सार्थक रुप दिन प्रयत्नशील प्रस्तुत निर्वाचन विभिन्न बाधा र चुनौतीको बाबजुद सम्पन्न भई त्यो सफलतातर्फ एक पाइला अगाडि बढेको उल्लेख गरेका छन् ।

यस निर्वाचनको पर्यवेक्षणका उक्त संस्थाको तर्फबाट ७७ वटै जिल्लामा ५२३ जना राष्ट्रिय पर्यवेक्षक, सार्वजनिक सेवामा महत्वपूर्ण योगदान गरेका राष्ट्रिय व्यक्तित्वहरु र अन्य स्वतन्त्र बुद्धिजीवीहरु समेत सहभागी भएर निर्वाचन केन्द्रहरुको स्थलगत भ्रमण गरेको विज्ञप्तिमा उल्लेख छ । निर्वाचनका क्रममा अनपेक्षित रुपमा केही मतदान केन्द्रहरुमा द्वन्द्व, झडप, मुठभेड र विवादको कारणले असर  गरेता पनि निर्वाचनको बृहत उद्देश्य प्राप्तिमा अपेक्षाकृतरुपमा निर्वाचन शान्तिपूर्ण वातावरणमै सम्पन्न भएको समितिको ठहर छ ।

यद्यपि मतदाताहरुको सक्रिय उत्साहमा कमी देखिएको तथा पर्यवेक्षणको अवधिमा युवा मतदाताको सहभागिता समेत न्यून देखिएको पनि समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष गरेर महिलाहरुका लागि र शारीरिक फरक क्षमता भएका मतदाताहरुको लागि मतदानस्थलमा मतदान गर्न पहुँचको सुविधाको ब्यवस्थापनमा कमी कमजोरीको निरन्तरता कायमै रहेको र कुनैकुनै मतदानस्थलमा शारीरिक क्षमता कमजोर भएका मतदाताहरु वैशाखी टेकेर, ज्येष्ठ नागरिकहरु आफन्तको काँधमा झुण्डिएर गएका दृश्यहरु पनि देखिएको समितिले जनाएको छ ।

अशक्त र सहारा चाहिने व्यक्तिहरुको लागि मतदान गर्न आफ्नो नजिकको नातेदारले सहयोग गर्न पाउने कानुनी अधिकारको दुरुपयोग गरेको समेत देखियो र यसैलाई कारण बनाएर राजनीतिक दलहरुबीच आपसी द्वन्द्वको वातावरण सिर्जना भएको पनि देखियो,’ समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

 

 

प्रकाशित मिति २०७९ मङ्सिर ४ गते आईतबार ०८:०१
प्रतिक्रियाहरु