ओलीको समर्थनमा रवि लामिछाने प्रधानमन्त्री बन्ने ठुलो सम्भावना, यस्तो छ प्रक्क्षेपण

ओलीको समर्थनमा रवि लामिछाने प्रधानमन्त्री बन्ने ठुलो सम्भावना, यस्तो छ प्रक्क्षेपण

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ६ गते मङ्गलबार ०२:०५

काठमाडौँ । देशभरको मत परिणाम आउने क्रम जारी छ । अबको राजनीतिक शक्ति संरचना कस्तो बन्छ भन्ने लगभग स्पष्ट भइसकेको छ । गठबन्धनका बाबजुद कांग्रेसले अपेक्षित शक्ति बढाउन सक्ने देखिएको छ भने एमाले र माओवादीले पनि केही गुमाउने संकेत...

काठमाडौँ ।

देशभरको मत परिणाम आउने क्रम जारी छ । अबको राजनीतिक शक्ति संरचना कस्तो बन्छ भन्ने लगभग स्पष्ट भइसकेको छ । गठबन्धनका बाबजुद कांग्रेसले अपेक्षित शक्ति बढाउन सक्ने देखिएको छ भने एमाले र माओवादीले पनि केही गुमाउने संकेत देखापरिसकेका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी देशको तेस्रो ठूलो शक्ति बनेर उदाउँदै छ । लामिछानेकै विचारसँग मिल्ने पूर्वपञ्चहरुको दल राप्रपाले गतिलै पुनरागमन गर्दै छ ।२०७४ सालको आम निर्वाचनमा समानुपातिकतर्फ एमालेले ३३.२५ प्रतिशत मत ल्याएर ४१ सिट प्रत्यक्षमा पाएको थियो भने कांग्रेसले ३२.७८ प्रतिशत मत ल्याएर ४० सिट पाएको थियो ।

माओवादीले १४ प्रतिशत मत ल्याउँदा १७ सिट हात पारेको थियो । एमालेसँगको गठबन्धन उसलाई निकै फापेको थियो । प्रत्यक्षमा कांग्रेसभन्दा बढी सिट ल्याएर ५३ सांसदसहित संसदमा उसको बलियो उपस्थिति भएको थियो ।कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जितेर जम्मा ६३ सदस्यीय दल बनेको थियो । जबकि एमालेले प्रत्यक्षमा ८० सिट जितेर १ सय २१ सांसदसहित संसदको झण्डै बहुमतनजिकको पार्टी बन्न पुगेको थियो । उसलाई बहुमत पुर्‍याउन जम्मा १७ सिट अपुग हुन्थ्यो र त्यो संख्या राजपा वा संघीय समाजवादीमध्ये कुनै एकसँग मात्र मिल्दा पुग्थ्यो ।

तर सत्ताबाट एक इन्च पनि पर बस्न नसक्ने लत लागिसकेका प्रचण्डले ओलीको ओत छाड्ने कुरै थिएन । त्यसमाथि ओलीको स्वास्थ्य कमजोर बन्दै गएको आकलन गरी उनले पार्टी नै मिलाएर आफूसमेत अध्यक्ष बन्ने रणनीतिमा फाइदा देखे । दुई अध्यक्ष भएको पार्टीमा ओलीको स्वास्थ्य खस्किँदै जाँदा आफू निर्विकल्प अध्यक्ष र प्रधानमन्त्री बन्ने सपना प्रचण्डले देखेका थिए । ओलीको स्वास्थ्य चामत्कारिक रुपमा सुधार हुँदै गएपछि प्रचण्डको छटपटाहट बढ्यो । एमालेभित्रैका असन्तुष्ट नेताहरुको साथ लिएर ओलीविरुद्ध कू गर्ने प्रयासमा लागे । अन्ततः कू असफल भयो । अदालतले पार्टी एकता नै बदर गरिदियो र प्रचण्ड आफै अलग्गिन बाध्य भए ।

त्यसपछि प्रचण्ड शेरबहादुर देउवाको निवास बूढानीलकण्ठतिर धाउन थाले । सत्ताको रसस्वादनका लागि उनको यो कसरत फलदायी भयो । गएको स्थानीय तह निर्वाचनमा गठबन्धनबाट गणितीय लाभ लिन सफल भए । तर आम निर्वाचनमा कांग्रेस नेता तथा कार्यकर्ताले

माओ‌वादीलाई छानीछानी बहिष्कार गरे । कांग्रेस, माओवादीसहित सत्ता राजनीतिमा यसअघि ढलीमली गरेका सबैजसो दलको मत खोसेर संसदमा तेस्रो ठूलो शक्ति बनेर राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुँदै छ । उसले अहिलेकै दर कायम राखी १५ प्रतिशत मत सुरक्षित गरेमा करिब १७ सिट समानुपातिकबाट पाउनेछ ।

हालसमम्म उसले अग्रता लिएका १० वटै सिट प्रत्यक्षबाट जितेमा २७ सिटसहित संसदको तेस्रो ठूलो शक्ति अब स्वतन्त्र पार्टी हुनेछ । यस्तै पूर्वपञ्चहरुको दल राप्रपाले पनि यसपालि राम्रैसँग पुनरागमन गर्ने देखिएको छ । राप्रपाले प्रत्यक्षबाट ५ र समानुपातिकबाट १० सिट ल्याए पनि संसदमा उसका १५ सांसद हुनेछन् ।

माओवादीले समानुपातिकबाट १३ र प्रत्यक्षबाट पनि बढीमा त्यति नै सिट ल्याउन सक्छ । सत्ता गठबन्धनकै अर्को घटक एकीकृत समाजवादीका १० सांसद पनि संसदमा पुग्न मुस्किल छ । किनभने उसले समानुपातिकमा ३ प्रतिशत मत कटाएर समानुपातिकतर्फबाट संसदमा सिट पाउने सम्भावना क्षीण बनेको छ । प्रत्यक्षतर्फ ९ सिटमा अग्रता हासिल गरिरहेको छ ।

एउटै दलको बहुमत आउन नसक्दा प्रायः दोस्रो र तेस्रो शक्ति मिलेर सरकार बनाउने स्थापित प्रचलन पनि छ । त्यसकारण पनि रवि लामिछाने स्वाभाविकरुपमा प्रधानमन्त्रीका दाबेदार बन्न सक्ने देखिन्छ ।

अझ एमाले अध्यक्ष ओली केही समययता युवालाई प्रभावित पार्न लागिपरेका कारण पनि सके लामिछानेलाई आफ्नै पार्टीमा भित्र्याउनेछन्, त्यो नभए रणनीतिक साझेदारीका लागि हात बढाउनेछन् । तसर्थ अबको सरकार रवि लामिछानेको सरकार हुनेछ । जुन जनताले चाहेको परिवर्तन वा नयाँपनलाई पनि सम्बोधन गर्नेछ ।

 

प्रकाशित मिति २०७९ मङ्सिर ६ गते मङ्गलबार ०२:०५
प्रतिक्रियाहरु