काठमाडौं ५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

काठमाडौं ५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ६ गते मङ्गलबार ०९:४१

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् ।प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका...

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् ।प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । औपचारिक मत परिणाम केहीबेरमा सार्वजनिक हुनेछ ।

काठमाडौं–१० (१) निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका पुकार महर्जन प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । १० हजार ८२ मत ल्याएर महर्जनले प्रदेशसभा सदस्य जितेका हुन् ।

७ हजार ३०९ मत सहित एमालेका शिवभक्ति बलामी निकटतम प्रतिद्वन्द्वी रहे । यो क्षेत्रमा सत्ता गठबन्धनले मैत्री प्रतिस्पर्धा गरेका थिए ।

नेकपा माओवादी केन्द्रका दिलिप महर्जनले ३ हजार ६ सय मत पाए । उनी भन्दा धेरै मत राप्रपाका उमेशराज सापकोटाले पाएका छन् । सापकोटाले ७४ सय ल्याए ।

कडा चुनावी प्रतिस्पर्धा भएको भक्तपुर–२ मा निर्वतमान सांसदसमेत रहेका एमाले उम्मेदवार महेश बस्नेतलाई सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका दुर्लभ थापालाई उछिन्न मुश्किल परिरहेको छ ।

एमालेले जितको अपेक्षा राखेको यस क्षेत्रमा सुरूदेखि नै कांग्रेसका उम्मेदवार थापाले अग्रता लिइरहँदा बस्नेतलाई आफ्नो प्रभाव क्षेत्रको मत गन्दा सहज हुने अनुमान थियो । तर बस्नेतको आफ्नै बसोबास रहेको र विकास निर्माणका योजना पुर्‍याएको क्षेत्र गुण्डुको मतगणना सकिँदासमेत उनले थापासँगको मतान्तरलाई घटाउन सकेका छैनन् ।

समान अनुपातमा अग्रता लिइरहेका थापा र पछ्याइरहेका बस्नेतबीच चर्को प्रतिस्पर्धा हुने अनुमान यसअघि थियो । शक्तिकेन्द्रसँग निकट रहने, दलबलको राजनीतिमा माहिर र आर्थिक हिसाबले सम्पन्न यी दुई उम्मेदवारबीच भइरहेको प्रतिस्पर्धामा अन्य दलका र स्वतन्त्र उम्मेदवारहरू छायाँमा परेका छन् ।

पहिले यस क्षेत्रमा राम्रो पकड बनाएको नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार अनुराधा थापामगर, घण्टी चुनाव चिह्न भएका राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विक र राप्रपाका मोहन केसी पनि प्रतिस्पर्धामा छन् । तर उनीहरु प्रतिस्पर्धामा पछाडि छन् ।

मतगणना सुरू भएर पहिलो पटक मतपरिणाम सुनाउँदा बस्नेत थापाभन्दा करिब ६ सय मतले पछाडि थिए । निर्वाचन क्षेत्रमा पर्ने मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाका वडाको मत मिश्रित ढंगले गणना भइरहेको छ ।

कुनै एउटा पक्षको मात्रै प्रभाव रहेको क्षेत्रको मत गणना हुँदा परिणाममा अघिपछि हुने सम्भावना रहन्थ्यो । दुवै पक्षको उत्तिकै प्रभाव रहेकाले पनि मिश्रित ढंगले मत गणना गर्दा पनि बस्नेत थापाभन्दा पछाडि रहँदै आएका छन् ।

खसेको करिब ६१ हजार मतमध्ये करिब ४५ हजारको गणना भइसक्दा थापाले अग्रता कायम गरिरहेका छन् भने बस्नेत ६ सयदेखि २ हजारसम्मको मतान्तरले पछ्याइरहेका छन् ।

अब करिब १५ हजार मत गन्न बाँकी छ । बस्नेतले आफ्नो बलियो पकड क्षेत्रको मतगणना हुँदासमेत उछिन्न नसकेपछि थापाको अग्रतालाई ‘ब्रेक’ गर्ने सम्भावना कम छ ।

त्यसैमा थापाको समेत प्रभाव क्षेत्रमा मतगणना हुन बाँकी नै छ । बाँकी सिपाडोलका केही ठाउँमा बस्नेतको राम्रो पकड रहेको मानिन्छ । उनले केही समयअघि उक्त क्षेत्रमा अस्पताल सारेका कारण उनलाई मत आउने अपेक्षा गरिएको छ । तर थापाको प्रभाव क्षेत्र मानिने सूर्यविनालयक नगरपालिकाको पाण्डुबजारलगायत क्षेत्रको पनि गणना हुन बाँकी छ । यी क्षेत्रमा करिब ६ हजार मत खसेको छ ।

त्यस्तै मत गणना हुन बाँकी मध्यपुर थिमीमा पनि थापा र बस्नेत दुबैको उत्तिकै प्रभाव रहेको मानिन्छ । यो क्षेत्रमा करिब १० हजार मत रहेको अनुमान छ । सत्ता गठबन्धनमा रहेका दल एकीकृत समाजवादी र माओवादी केन्द्रको पनि यस क्षेत्रमा राम्रो प्रभाव छ ।

देशैभर कांग्रेसको मत अन्य दललाई बाँडिन नसके पनि कांगेसलाई भने गठबन्धनका सबै दलले सहयोग गरेको प्रारम्भिक मत परिणामले देखाइरहेका छन् । त्यसैले यहाँ पनि थापाले माओवादी केन्द्र र एकीकृत समाजवादीको मत पाए भने बस्नेतलाई मतान्तर घटाउन थप कठिन हुने देखिन्छ ।

प्रकाशित मिति २०७९ मङ्सिर ६ गते मङ्गलबार ०९:४१
प्रतिक्रियाहरु