Kathmandu
काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले मत बढाउँदै लगेका छन्। पछिल्लो मतपरिणाम अनुसार बाँस्कोटाले २१ हजार ८१९ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले २० हजार ८४८ मत ल्याएका छन्। बाँस्कोटा ९७१ मतले अघि छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ६ हजार २ सय ६२ मतसहित तेस्रो स्थानमा छन्। काभ्रे-२ मा सुरूआतदेखि नै कांग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ। अघिल्लो निर्वाचनमा भने यो क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए।
पाँच वर्ष अघि भएको निर्वाचनमा बाँस्कोटाले ५४ हजार ४२७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका मधु आचार्यले ३६ हजार ५७९ मत पाएका थिए । अर्थात बाँस्कोटाले १७ हजार ८४८ मतान्तरले जितेका थिए । बास्कोटाले पाएको मत देशभरकै निर्वाचन क्षेत्रमा तेस्रो धेरै थियो । बाँस्कोटाका प्रतिस्पर्धी कांग्रेस नेता हुमागाईं पनि पूर्वसांसद हुन् ।
चार पटक कांग्रेसको जिल्ला सभापति र केन्द्रीय सदस्य बनेका हुमागाईं २०५६ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा एमालेका कृष्णप्रसाद सापकोटासँग र २०७० को संविधान सभा चुनावमा एमालेकै रामहरि सुवेदीसँग पराजित भएका थिए ।
बाँस्कोटा पनि २०४३ सालमा अनेरास्ववियुको जिल्ला सचिव भएका, त्यसपछि अध्यक्ष र २०५४ देखि पार्टीको जिल्ला सदस्य बनेका थिए । २०५९ देखि २०६३ सम्म एमालेको जिल्ला उपसचिव र २०६४ देखि २०६६ सम्म जिल्ला सचिव भएका थिए ।
२०६७ देखि २०७१ सम्म दुई कार्यकाल नेकपा एमाले जिल्ला अध्यक्ष बनेका बाँस्कोटा हाल पार्टीको पोलिट्ब्यूरो सदस्य छन । बाँस्कोटा २०७० को संविधान सभा सदस्य पदमा कांग्रेसका कञ्चनचन्द्र बादेसँग पराजित भएका थिए ।
खरो स्वभावका बाँस्कोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ठेकेदारका एजेन्टसँग ७० करोड रुपैयाँ रकम बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि विवादित बनेका थिए । सोही कारणले उनले मन्त्री पदबाट राजीनामा पनि दिएका थिए ।
प्रकाशित मिति २०७९ मङ्सिर ८ गते बिहिबार ११:२४