बुथ कब्जा नहुनु थियो भयो त्यो ठाउँमा फेरि मतदान गराउछौ – आयोग

बुथ कब्जा नहुनु थियो भयो त्यो ठाउँमा फेरि मतदान गराउछौ – आयोग

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर १२ गते सोमबार ११:१४

निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुन:निर्वाचन हुने भएको छ। आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्रमा १० वटा मतदान केन्द्रमा पुन:मतदान गराउन लागेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। आयोगले पुन: निर्वाचन...

निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुन:निर्वाचन हुने भएको छ। आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्रमा १० वटा मतदान केन्द्रमा पुन:मतदान गराउन लागेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

आयोगले पुन: निर्वाचन मतदान गराउन दोलखा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन समेत दिएको छ। यसअघि भएको मतदानलाई रद्द गर्दै मतदान गराउन भनेको हो।

वैत्यश्वर गाउँपालिका-६का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका-३ हेल्थपोस्ट भवन क र ख, वडा नं ३ को कालीढुंगा मावि क, ख, ग मा मतदान हुने भएको हो। अन्य मतदान केन्द्रमा भने मतदान नगरिने आयोगले जनाएको छ।

दोलखाका ७ वटा मतदान केन्द्रमा पुन मतदान गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन निर्वाचन आयोगमा पेश भएको छ।आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई बुझाइएको प्रतिवेदनमा यी केन्द्रमा पुनः मतगणना गर्नुपर्ने उल्लेख गरिएको छ।

४ मंसिरको चुनावमा वैतेश्वर, तामाकोशी, शैलुङ र मेलुङका ७ वटा मतदान केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा रिपोर्ट पठाएको थियो।

निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली खटाएर छानबिन गरेको थियो।आयोगको छानविनमा दोलखाका ती केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान नभएको भन्दै पुनः मतदान गर्न सिफारिस गरिएको थियो।

खासगरी नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वमा दोलखाका १० ठाउँमा बुथ कब्जा भएको भन्दै निवेदन दिएको थियो। मंसिर ४ मै कांग्रेसका प्रदेशसभा उम्मेदवार कुन्दनराज काफ्लेको नेतृत्वमा बुथ कब्जा भएको भन्दै एमालेले आयोगमा निवेदन दिएको थियो।

दोलखामा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटीले जिल्लाका पाँच स्थानमा बुथ कब्जा भएको भन्दै निवेदन दिएका थिए। तर पछि एमालेले अन्य पाँच ठाउँमा पनि बुथ कब्जा भएको जनाएको थियो।

उनले निर्वाचन गराउन खटिएका कर्मचारी र सुरक्षाकर्मीसमेत मिलेर सत्ता गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेको जनाएका थिए। उक्त घटनालाई लिएर शिवाकोटीले मंसिर ४ मै दोलखास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुन:मतदानका लागि निवेदन दिएका थिएन्।

‘गठबन्धन दल, निर्वाचनमा खटिएका कर्मचारी र शान्ति सुरक्षा दिने निकायसमेतको मिलेमतोमा बुथ कब्जा गरी मतदान केन्द्र नै भयावह बनाई एकलौटी गठबन्धनको पक्षमा मत खसाएकाले निम्न निर्वाचन केन्द्रको चुनाव रद्द गरी पुन निर्वाचन गरि पाऊँ’, उनले निवेदनमा भनेका थिए।

जिल्लाका बैतेश्वर मावि मतदान केन्द्र, हेल्थपोष्ट मतदान केन्द्र तामाकोशी-३ , वडा कार्यालय पिपलबोट मतदान केन्द्र वैत्यश्वर-१, नविन मावि शैलुङ-३ र जफे प्रावि मेलुङ-४ मेलुङमा सत्ता गठबन्धनले बुथ कब्जा गरेर एकलौटी भोट खसाएको एमालेको आरोप थियो।

 

प्रकाशित मिति २०७९ मङ्सिर १२ गते सोमबार ११:१४
प्रतिक्रियाहरु