नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेसँग छलफल गर्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाडामा बसेको पदाधिकारी बैठकले सरकार गठनका लागि सबै विकल्प खुल्ला राख्ने निर्णय गरेको हो ।
बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सकिने बताए । उनले माओवादी केन्द्रको नेतृत्वमा सरकार गठनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने भए एमालेसँग माओवादी मिल्न तयार रहेको प्रतिक्रिया थिए ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको विश्लेषण गर्दै माओवादीले यस्तो निर्णय गरेको हो।
एमालेसँग पनि मिलेर सरकार बनाउने विकल्प खुल्ला राख्नु भएको हो भन्ने प्रश्नमा महराले भने, ‘सबै विकल्प खुल्ला छ, तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय हामीले गरेका छैनौं ।’
माओवादीले पहिलो चरणमै आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दैं आएको छ। कतिपयले नेपाली कांग्रेस यसका लागि तयार नभए एमालेसँग पनि माओवादी मिल्नसक्ने आशंका गरेका छन् । एमाले नेताहरुले पनि माओवादीलाई सँगै मिलेर जानका लागि आह्वान गरिरहेका छन्।
बैठकमा चुनावी नतिजाबारे भने प्रारम्भिक छलफल भएको थियो । अपेक्षा गरेजस्तो नजिता नआएको निष्कर्षमा बैठक पुगेको महराले बताए। ‘अपेक्षा गरेजस्तो संघमा सफलता हासिल गर्न सकिएन भन्ने भयो’, उनले भने, ‘समग्र समीक्षा सबै परिणाम आएपछि गर्ने भन्ने भयो।
माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाल दाहाललाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने नीति रणनीति लिएको उनको भनाइ छ ।
तर माओवादीले नेकपा एमालेलाई पटकपटक प्रतिगमनकारीको संज्ञा दिंदै आएको थियो । बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका थिए ।
चुनावी परिणाम र सरकार निर्माणमा केन्द्रित छलफलले आइतबार पनि निरन्तरता पाउने भएको छ । पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे बोलाइएको छ ।
प्रकाशित मिति २०७९ मङ्सिर १७ गते शनिवार ०९:४२