कूटनीतिक आचारसंहिता : मेयर बालेन्द्रले माने, शीर्ष नेताहरुद्वारा बेवास्ता

कूटनीतिक आचारसंहिता : मेयर बालेन्द्रले माने, शीर्ष नेताहरुद्वारा बेवास्ता

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर २३ गते शुक्रबार १२:३६

विदेशी सरकार र अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि एवं अन्य पदाधिकारीसँग भइरहेका भेटवार्ताबारे परराष्ट्र मन्त्रालय सधैं बेखबर

काठमाडौँ

आमनिर्वाचनको नतिजा औपचारिक रूपमा सार्वजनिक नहुँदै भारतीय राजदूत नवीन श्रीवास्तवले यहाँका मुख्य दलका शीर्ष नेतासँग भेटवार्ता तीव्र बनाएका छन् । अमेरिकी राजदूत डिन थम्प्सनले पनि नेताहरूसँग भेटवार्ता गरिरहेका छन् । भेटवार्तामा कूटनीतिक आचारसंहिता भने पालना गरिएको छैन ।

भारतीय राजदूत श्रीवास्तवले १० दिनभित्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरिसकेका छन् । उनले मंसिर ११ मा देउवालाई बालुवाटार र दाहाललाई उनकै निवास खुमलटार पुगेर भेटेका हुन् ।

ओलीलाई पनि श्रीवास्तवले उनकै निवास बालकोटमा बुधबार भेटेका छन् । २०७२ सालको संविधान निर्माणका बेला सक्रिय तत्कालीन भारतीय राजदूत रञ्जित रेकै झल्को दिने गरी श्रीवास्तवले शीर्ष नेतासँग भेटवार्ता गरिरहेका छन् । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई बुधबार पार्टी कार्यालयमा पुगेर भेटे ।

भेटवार्तामा राजदूतहरूले निर्वाचन सम्पन्न गरेको र जित हासिल गरेकामा व्यक्तिगत रूपमा शीर्ष नेताहरूलाई बधाई दिएको उनीहरूको सचिवालयले दाबी गरेको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको कूटनीतिक आचारसंहिता–०६८ मा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्ने र भेटवार्तामा परराष्ट्रका टिपोट गर्ने अधिकृतलाई सामेल गर्नुपर्ने प्रावधान छ । उक्त प्रावधान पालना नगरिँदा विदेशी राजदूतसँग नेपालका शीर्ष नेताले भेटवार्तामा के–के विषयमा कुराकानी भयो भन्ने कतै पनि अभिलेखीकृत हुन सकेन ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र अमेरिकी राजदूत थम्प्सनबीच मंसिर १५ मा भेटवार्ता भएको थियो । भेटवार्ता महानगरको कार्यालयमै भएको थियो । उक्त भेटवार्तालाई लिएर पूर्वउपप्रधानमन्त्री भीम रावलले सामाजिक सञ्जालमा प्रश्न उठाएपछि मेयर शाहको सचिवालयले परराष्ट्रको स्वीकृतिपत्र सार्वजनिक गरेको थियो ।

मेयर शाहले पनि अमेरिकी दूतावासले भेटका लागि पटक–पटक आग्रह गरेपछि आफूले परराष्ट्र मन्त्रालयबाट स्वीकृति ल्याउन भनेको र प्रक्रिया पूरा भएपछि भेटवार्ता भएको बताएका थिए । तर पटक–पटक प्रधानमन्त्री र परराष्ट्रमन्त्री भइसकेका शीर्ष नेताले कूटनीतिक आचारसंहिता बेवास्ता गर्दै आएका छन् ।

भर्खरै चारवर्षे कार्यकाल सकेकी चिनियाँ राजदूत होउ यान्छीले तत्कालीन नेकपामा विवाद चर्कंदा लगातार रूपमा शीर्ष नेताहरूको घरदैलो गरेकी थिइन् । एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुनुअघि अमेरिकीहरूले शीर्ष नेताहरूसँग पटकपटक सिधै भेटवार्ता गरेका थिए । भारतको अन्तर्राष्ट्रिय गुप्तचरी सुरक्षा निकाय ‘रअ’ का प्रमुख सामन्त गोयलले २०७७ कात्तिक ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा पुगेर भेटवार्ता गरे । उक्त भेटवार्तामा के कुराकानी भयो भन्ने अहिलेसम्म पनि कसैलाई थाहा छैन ।

पछिल्लो समय भारत र चीनबाट दलगत नेता र अमेरिकाबाट मन्त्रीहरूको नेपाल भ्रमण बाक्लै भएको छ । उनीहरूले यहाँका नेतासँग भेट गर्दा परराष्ट्र मन्त्रालयका अधिकारीलाई सामेल गराइएको थिएन । ‘मन्त्रालयले जारी गरेको कूटनीतिक आचारसंहिता पालना गर्ने जिम्मा सम्बन्धित निकाय र अधिकारीहरूको हो । मन्त्रालयमार्फत आए हामीले सहजीकरण गरिदिन्छौं । आआफ्नै तालमा भएको भेटवार्ताबारे हामीलाई थाहा हुन्न,’ परराष्ट्रका एक अधिकारीले भने ।

परराष्ट्र मन्त्रालयका पूर्वशिष्टाचार महापाल प्रमुख अर्जुनकान्त मैनाली विदेशीसँग उच्च तहका पदाधिकारीले भेटवार्ता गर्दा त्यो मर्यादा अनुकूल छ/छैन, त्यसको प्रभाव के हो भनेर हेर्नुपर्ने बताउँछन् । ‘कुनै पनि मुलुकको नेता आएर भेट्नु नयाँ कुरा होइन तर हामीले प्रोटोकल हेर्नुपर्छ, राष्ट्रिय हित हेर्नुपर्छ,’ उनले भने, ‘अरू देशमा भेटवार्ता गर्न यति सहज हुँदैन, हामीकहाँ त एक पटक भेटौं भन्दा उच्च पदाधिकारीदेखि तलसम्मका सबै तत्काल तयार भइहाल्छन् ।’

पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई नेपालमा विदेशीसँगको भेटवार्तालाई लिएर तीन प्रवृत्ति रहेको बताउँछन् । ‘विदेशीलाई भेट्न पाएपछि के–के न हुन्छ भन्ने छ । हामी विदेशी बढी जान्ने हुन्छन् भन्ने सोच्छौं । दोस्रो, हामी प्रोटोकल (मर्यादा) मा बस्दैनौं । र, तेस्रोचाहिँ हामी अलिकति खुला र अतिथिलाई स्वागत गर्ने स्वभावका पनि हौं,’ उनले भने । जापान र जर्मनीका पूर्वराजदूतसमेत रहेका उनले विदेशमा नेपालमा जस्तो जति बेला मन लाग्यो, त्यति बेला उच्च पदाधिकारीसँग भेटवार्ता गर्न नपाउने बताए ।

नेपाल सरकारका तर्फबाट विदेशी सरकार तथा अन्तर्राष्ट्रिय संघसंस्था र तिनका प्रतिनिधि एवं अन्य पदाधिकारीसँगको औपचारिक भेटघाट, सम्पर्क, वार्ता, सम्बन्ध र सञ्चारलाई कूटनीतिक मर्यादा एवं अन्तर्राष्ट्रिय प्रचलनअनुरूप व्यवस्थित र मर्यादित बनाउन सरकारले २०४८ सालमा कूटनीतिक आचारसंहिता ल्याएको हो । आचारसंहिता सार्वजनिक पदका व्यक्ति र राज्यकोषबाट पारिश्रमिक वा सुविधा पाउने पदाधिकारीसमेतलाई लागू हुने भनिएको छ । आचारसंहिता राष्ट्रपति, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीका लागिसमेत हो ।

आचारसंहितामा नेपाल सरकारका मन्त्री वा संवैधानिक निकायका पदाधिकारी वा अन्य उच्च पदाधिकारीले विदेशी सरकारका मन्त्री, राजदूत वा उच्च सरकारी अधिकारीसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालय र विषयसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधिलाई आमन्त्रण गर्नुपर्ने उल्लेख छ । आचारसंहितामा भनिएको छ, ‘परराष्ट्र मन्त्रालयका प्रतिनिधिले भेटघाटका अवसरमा भएको वार्ताको विवरण तयार गर्नुपर्नेछ ।

विशेष कारणवश परराष्ट्र मन्त्रालय वा सम्बन्धित मन्त्रालयका पदाधिकारीलाई आमन्त्रण गर्न नसकिए कुराकानीको संक्षिप्त टिपोट, महत्त्वपूर्ण अंश नछुटाई परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायमा पठाउनुपर्नेछ ।’ परराष्ट्र मन्त्रालयको पदाधिकारीले गरेको भेटघाट, सम्पर्क, वार्तालगायतका कार्यहरूको संक्षिप्त टिपोट भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनुपर्ने व्यवस्था आचारसंहितामा उल्लेख छ ।

प्रकाशित मिति २०७९ मङ्सिर २३ गते शुक्रबार १२:३६
प्रतिक्रियाहरु