काठमाडौं।
शहरी विकासमन्त्री मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बनेर त्यसको नेतृत्व शेरबहादुर देउवाले गर्ने बताएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘सरकारबारे छलफल भइरहेको छ, पाँच दलीय गठबन्धनकै सरकार बन्छ। सरकारको नेतृत्व र मन्त्रीहरु पनि सल्लाहमै टुँगो लगाउँछौं’, उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख सबै पद प्याकेजमै सहमति हुन्छ।
पाँच वर्षसम्म अब यही गठबन्धनको सरकार बन्छ। यसमा कोही पनि कन्फ्युजन हुन जरुरी छैन।’मन्त्री चौधरीले अहिले एमालेसहितको वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने सम्भावना नरहेको जिकिर गरे।‘एमालेसहितको वामपन्थीहरुको सरकार बन्ने कुनै सम्भावना छैन। यसमा कसैले पनि भ्रम नपाले हुन्छ। गठबन्धनकै नेतृत्वमा सरकार बन्छ। कांग्रेस ठूलो दल हो। उसको फष्ट च्वाइस हो। प्रधानमन्त्रीमा दाबी गर्ला’,
उनले थपे, ‘गठबन्धनभित्र कांग्रेसपछि माओवादी दोस्रो ठूलो दल हो, उसले राष्ट्रपति च्वाइस गर्ला। एकीकृत समाजवादीले सभामुखमा दाबी गर्न सक्छ। हुन त नेताहरुसँग मेरो कुराकानी भएको छैन। तर, यही रुपमा छलफल अघि बढ्न सक्छ।’
उनले आगामी फागुनसम्म नयाँ सरकार गठन गरिसक्ने दाबी गरे। ‘चुनावी परिणामबाट हामी सन्तुष्ट हुने कुरा उठाउनुभयो, हामी १९ सिटमा लडेका थियौँ। १५ जित्ने दाबी थियो। तर, १० सिट जित्यौँ। तुलना गर्दा राम्रो रिजल्ट ल्याएका छौं’
, उनले भने, ‘अपेक्षाअनुसार खासगरी अहिलेको रिजल्ट हेर्दा कमजोर छ। समानुपातिकमा १० लाख आउँछ भनेका थियौँ। तर, अब ३ लाख प्लस ल्याउँछौँ। सन्तुष्ट हुने कुरै भएन। कमीकमजोरी भएको छ। हामी निर्वाचनमा देखिएको समस्याको खोजी गर्छौं।’
मन्त्री चौधरीले अहिले मार्केटमा नयाँ अनुहारको प्रधानमन्त्री खोजी भएकोतर्फ संकेत गर्दै त्यस्तो सम्भावना नरहेको स्पष्ट पारे। ‘अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो। त्यसबाहेक अरुखालको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउन सक्दैन’,
उनले भने, ‘प्रधानमन्त्रीमा गगन थापाले दाबी गर्नु सकारात्मक कुरा हो। सम्भव कति होला, त्यो उहाँको दलभित्रको कुरा हो। सांसद बनेपछि मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री हुन खोज्ने कुरा सामान्य हो।’उनले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अब बन्ने नयाँ मुख्यमन्त्रीको शपथ हुने दाबी गरे। ‘अब बन्ने संसद्को पहिलो बैठक राजधानी दाङमा बस्छ’, उनले भने।
सरकार गठनको रस्साकस्सी, निर्णायक भूमिकामा माओवादी
मंसिर ४ गते सम्पन्न आम निर्वाचनको अन्तिम नतिजा घोषणा नहुँदै दलहरु नयाँ सरकार गठनको रस्साकस्सीमा लागेका छन् ।प्रतिनिधिसभातर्फ १६५ क्षेत्रमध्ये १६४ को नतिजा आइसक्दा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल सुरु गरेका हुन् ।यस निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नभएपछि प्रमुख दलका शीर्ष नेताहरु औपचारिक तथा अनौपचारिक भेटघाट र संवादमा जुटेका छन् । तर, नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा नेकपा माओवादी केन्द्र निर्णायक भूमिकामा देखिन्छ ।
नेपाली काँग्रेसले आफुले प्राप्त गरेको सीटका आधारमा मात्रै सरकार गठन गर्न सक्दैन । उसले ५७ सीट जितेको छ । त्यस्तै, प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत प्राप्त गरेको सीटका आधारमा सरकार बनाउन सक्दैन । उसले ४४ सिटमा जित निकालेको छ । यी दुई दललाई नयाँ सरकार निमार्णका लागि अन्य दलसँगको सहकार्य आवश्यक पर्ने हुँदा माओवादी केन्द्र निर्णायक देखिएको हो ।
त्यस्तै, काँग्रेसका संस्थापन (देउवा पक्ष) गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन् भने काँग्रेसकै संस्थापनइतर (शेखर कोइराला पक्ष) गठबन्धनभन्दा बाहिर रहेर सरकार बनाउने तयारीमा देखिन्छन् । तर, निर्वाचनमा सँगै गएको सत्ता गठबन्धनमा सोचेअनुरुप मत नआएपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धन तोड्ने मुडमा देखिन्छन् ।
एमालेले माओवादी केन्द्रसँगै सहकार्य गरेर सरकार गठनका लागि गृहकार्य सुरु गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आगामी सरकार निर्माणमा सहकार्य गर्न प्रस्ताव गरिसकेका छन् ।
यता, माओवादीले औपचारिक निर्णय नै गरेर अन्य दलसँग नयाँ सरकार गठनको विकल्प खुला गरेको जनाएको छ । यस्तो अवस्थामा माओवादीले एमालेसँग सहकार्य गर्ने प्रवल सम्भावना देखिन्छ । तर, आफूले प्रधानमन्त्री पाए वर्तमान सत्ता गठबन्धन नतोड्ने माओवादीका एक नेताले बताए ।
सरकार बनाउनका लागि कम्तीमा १३८ सी चाहिन्छ । तर, एमाले र कांग्रेस दुवै दलले पाएको सीट संख्याले उनीहरुलाई सरकार बनाउन बहुमत पुग्दैन । उनीहरुलाई अन्य दलका सांसदको समर्थन आवश्यक पर्छ ।कांग्रेसले ५७ सीट जितेको छ । यता, दोलखामा माओवादीले जिते उसको सिट संख्या १८ हुनेछ । तर, एमालेले जिते एमालेका सीट संख्या ४५ हुनेछ ।
यस्तै, नेकपा एकीकृत समाजवादीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ सीट जितेका छन् । लोसपाले ४, नागरिक उन्मुक्तिले ३, नेमकिपा र जनमोर्चाले एक–एक तथा ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
समानुपातिकतर्फको अन्तिम परिणाम आउन बाँकी छ । यद्यपी, सातवटा पार्टीले थ्रेस होल्ड कटाइसकेका छन् । त्यसैले यी सात पार्टीले पाउने सम्भावित सीट संख्या अनुमान गर्न गाह्रो छैन । समानुपातिकमा सबैभन्दा धेरै मत पाएको एमालेले कम्तीमा ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १४, राप्रपाले ७, जसपा र जनमतले ४–४ सीट पाउने सम्भावना छ । यद्यपी, एक दुई सीट तलमाथि हुनसक्छ ।
यसअनुसार कांग्रेसको जम्मा सीट ८९, एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, राप्रपाको १४, जसपाको ११ र जनमतको ५ सीट हुनेछ ।एमाले र माओवादीबीच सहकार्य भएमा अहिलेसम्मको परिदृष्यअनुसार यो गठबन्धनमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, जसपाको ११ सीट गरेर १३५ सिट हुने देखिन्छ । यस्तो अवस्थामा माओवादीको भूमिका निर्णायक हुने देखिन्छ ।
निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक बस्दै
काठमाडौं । निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक सोमबार दिउँसो ३ बजेका लागि आह्वान गरेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले जानकारी दिए ।
माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुरुङले गठबन्धनको बैठक तय भएको जानकारी दिए । गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ ।
र यसैगरी आजका मुख्य खबरपनि
१. तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको नेकपा (माओवादी केन्द्र)को ठहर, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकमा गठबन्धन फोड्ने वा तोड्ने पक्षमा नरहेको निष्कर्ष, बैठकमा मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रारम्भिकरूपमा समीक्षा, सत्तारूढ गठबन्धनको बैठक आह्वान गरेर समग्र पक्षमा छलफल गरिने ।
२. यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन नेपाली कांग्रेसको निर्देशन, पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गर्नेविरुद्ध जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन ।
३. प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आएलगत्तै सत्ता गठबन्धनको बैठक बस्ने, चुनावी परिणामको समीक्षा र भावी सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइयो, गठबन्धन दलको बैठक सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने, बैठकमा चुनावको परिणामको समीक्षा र आगामी सरकार निर्माण लगायत विषयमा छलफल हुने ।
४. मंसिर २८ गतेभित्र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम राष्ट्रपतिलाई बुझाउने निर्वाचन आयोगको तयारी, पूर्णरुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता जारी रहने भनाइ, समानुपातिक निर्वाचन प्रणालीको मत गणना अहिले जारी रहेकाले आचारसंहिता जारी रहेको भनाइ ।
५. अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलको भनाइ, सत्तारुढ गठबन्धनको लक्ष्य शान्ति, सुशासन र स्थिर सरकार भएको अभिव्यक्ति, कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर बनाउने दाबी, नवनिर्वाचित जनप्रतिनिधिले जनताको विश्वासमा धोका दिन नहुने भनाइ ।
६. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्राचार, अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्रचार ।
७. संरचना निर्माण नहुँदै बुटवलबाट राजधानी नसार्न रुपन्देहीका राजनीतिक दलहरूको आग्रह, नेपाली कांग्रेस र नेकपा (एमाले) रुपन्देहीले आज छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर दाङमा कुनै संरचना निर्माण नभएका कारण हतारमा राजधानी नसार्न आग्रह, पूर्वाधार निर्माणका काम सम्पन्न नहुँदै प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट राजधानी दाङ सार्न लागिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै नयाँ सरकार नबन्दै वर्तमान काम चलाउ सरकारले यो काम गर्न नमिल्ने भनाइ ।
८. नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अंकमा पुग्यो, आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार, कारोबारमा बैंकिङ, विकास बैंक, वित्त र उत्पादन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढ्यो ।
९. आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित, नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेटले पराजित, यस जितसँगै स्कटल्याण्ड शीर्ष स्थानमा उक्लियो, नेपालले जितका लागि एक सय ३८ रनको लक्ष्य स्कटल्याण्डले ३२ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै पूरा ग¥यो ।
१०. इन्डोनेसियाको माउन्ट सेमेरुमा आइतबार प्राकृतिक ग्यास विस्फोट हुँदा हजारौँ मानिस भागाभाग, करिब दुई किलोमिटरमाथि तातो खरानीले ढाकेको र पहाडको फेदीतर्फ लाभाका नदीहरू बगेको देखिएको इन्डोनेसियाली अधिकारीको भनाइ, विस्फोटपछि करिब दुई हजार मानिसलाई स्थानीय बस्तीबाट सुरक्षित स्थानमा सारियो ।
Source-newsparda
प्रकाशित मिति २०७९ मङ्सिर २६ गते सोमबार ०६:५५