काठमाडौं । पार्टी खुलेको छोटो समयमा लोकप्रिय मत ल्याएर राष्ट्रिय पार्टी बन्न सफल भएको पूर्व संचारकर्मी रवि लामिछाने नेतृत्चको पार्टी संसदमा कस्तो भूमिकामा रहला भन्ने चासो र चर्चा सुरु भएको छ । सरकारमा जाला या प्रतिपक्षमै बसेर रास्वपाले घण्टी बजाउला भन्ने चासो पनि देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने देखी निर्वाचित सांसदहरु कसैले सरकारमा जाने कुरालाई असम्भव भनेका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा जाने म्याण्डेट होइन प्रतिपक्षमै बस्नु पर्छ भन्ने जनमत हो भनेर शुभचिन्तकहरुले भनिरहँदा पनि पार्टी नेतृत्व र निर्वाचित सांसहरु किन सरकारमा जाने बिषयमा सकारात्मक छन् भन्ने सवाल उठेको छ ।
चितवन २बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए लगत्तै देखी आज सम्म पनि निरन्तर रुपमा रास्वपाका सभापती रवि लामिछानेले एजेण्डका आधारमा सरकारमा जान सकिने कुरा बताइरहेका छन् । के का लागी उनीहरुले यस्तो कुरा गरिरहेका छन् भनेर खोजि सुरु भएको छ । के रास्वपा पनि सत्ताको लोभमा फस्न थालेको होइन रु भन्ने प्रश्न पनि उठेको छ ।
प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट गरेर २० सिट जित्न सफल भएको घण्टी चिन्ह भएको रास्वपामा समानुपातिक सांसद चयनको विषयमा भने चरम विवाद देखिएको छ । समानुपातिक सांसद चयनमा चलखेल गरेको अरोप पार्टी नेतृत्वलाई पार्टीकै नेताहरुले लगाइहेका छन् ।
चर्चित राजनितिक विश्लेषक भरत दहालले रवि लामिछानेले सत्ता बार्गेनिङको खेल सुरु गरिसकेको दाबी गरेका छन् । एक अनलाईन टेलिभिजन सँगको कुराकानीमा विश्लेषक दहालले रवि लामिछाने उपप्रधानमन्त्री माग्दै राति बालुवाटार गएको समेत ठोकुवा गरेका छन् ।
आफुलाई बालुवाटार भित्रै बाट सूचना आएको दाबी गर्दै दहालले रास्वपका सभापती रवि लामिछानेले उपप्रधानमन्त्री बनाउने हो भने देउवालाईनै प्रधानमन्त्री बनाएर सरकारमा जान तयार भएको भनेर देउवा समक्ष भनेको दहालले बताएका छन् । दहालको कुरालाई अहिले सम्म रास्वपाका सभापती लामिछानेले खण्डन गरेका छैनन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी सत्ताको बार्गेनिङमा लागिरहेको कुरा रास्वपाकै केन्द्रिय सदस्य गणेश कार्कीे समेत खुलासा गरेका छन् । समानुपातिक सांसदको बन्द सुचिमा रहेका कार्कीले सांसद नबनाइए पछि पार्टी भित्रका चलखेलहरु बाहिर ल्याइदिएका छन् ।
रास्वपाका केन्द्रिय सदस्य कार्कीले आफ्नो सामाजिक संजालमा लेखेका छन्’ अहिले प्रवक्ता खाँदै गर् । अब हामी सरकारमा जान्छौँ, जान्छौँ, जान्छौँ । बार्गेनिङ मिलिसकेको छ, राष्ट्रिय सभामा हाम्रो एक सिट लगभग पक्का हो, त्यहाँ पनि अवसर हुन सक्छ । अवसरै अवसर छ । पार्टी छोडेर केहि पनि पाउँदैनस् ।लालच देखाइयो ।हकले पाउने छोड्दिन । निगाहमा केहि चाहिदैन ।’
बार्गेनिङ गर्ने दलाल नसम्झिनु ल । अनि सरकारमा गएर हिजो गलत भनेकैहरुलाई काँध हाल्ने कृत्यको बिरोधी हुँ म ।लालचले काम गरेन । किनभने, केहि मान्छेहरु यति सस्ता हुन्छन् कि सित्तैमा पाइन्छन् तर किन्न खोज्दा संसारको लालचले पनि नभ्याउने महंगा हुन्छन् ।
यो स्टाटस लेखेको केहि समय पछि कार्कीले फेरी अर्को स्टाटस लेखेका छन् । समानुपातिकको बन्द सुचिमा परेर पनि सांसद बन्न नपाउँदाको आक्रोस त कार्कीमा स्वभाविक होला तर सो पार्टीमा भित्र भित्रै के भइरहेको छ भन्ने बारेमा पनि उनले खुलासा गरिरहेका छन् । पार्टी सभापती रवि लामिछाने र महामन्त्री मुकुल ढकाललाई ठूलो फ्रेममा देउवाको फोटो बुझाउनु पर्ने पनि उनले भनेका छन् ।
कार्कीको अर्को स्टाटस यस्तो छ ‘म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए ।
किनभने, १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो । म खसआर्य खुलातर्फको दोस्रो नम्बरमा र दिपक बोहोरा तेस्रो नम्बरमा थियौँ । समावेशी र आरक्षणको बिषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पुर्याउने गरि महिलालाई राख्नै पर्ने हुन्छ । नियम त्यहि हो । बिधी त्यहि हो । त्यहि अनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनु पर्ने हो । यसैले मेरो र दिपकजीको सांसद हुने पक्कापक्की नै हो । तर आफ्नालाई काखी च्यापियो ।
जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, बिधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरुले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो । यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु ।
अन्त्यमा, रास्वपालाई समर्थन गर्ने कि नगर्ने तपाईको व्यक्तिगत अधिकारको कुरा हो । आफ्नो ब्रह्मले सहि ठानेको निर्णय गर्नुहोला ।पुनश्चः फोन, म्यासेज, ट्याग गरेर म समानुपातिकमा किन परिन भनेर सोध्ने सबैको चासोप्रति असिम सम्मान छ । अलग अलग जवाफ दिन सम्भव नभएकाले यहाँ लेखेको हुँ ।पुनः पुनश्च स् माथिका कुनै पनि आरोप होइनन् । खोज्नु होला । प्रमाणित हुन्छन् ।
प्रकाशित मिति २०७९ मङ्सिर २७ गते मङ्गलबार ०८:२९