काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिएका छन् ।
उनले केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रसँग घटनाबारे विस्तृत विवरण लिएका हुन् ।
निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारीरूपमा उद्धारमा लाग्नु निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले आजै अपराह्न १ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
निरीक्षणमा प्रधानमन्त्रीका साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत सरकारी अधिकारीहरू थिए।
पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गरेकै जहाज आइतबार बिहान दुर्घटनामा परेको खुलेको छ ।
९एन–एएनसी ७२ जहाज पहिलो पटक पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो अवतरण भएको हो । सोही जहाज आइतबार बिहान पोखरा विमानस्थलकै नजिकै दुर्घटनाग्रस्त भएको हो ।
उक्त जहाजले नै गत २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा परीक्षण उडान भरेको थियो । जसको नेतृत्व कमल केसीले गरेका थिए । आजै पनि उही केसी जहाजका मुख्य पाइलट थिए ।
उक्त जहाज काठमाडौंबाट १०ः२५ मा पोखराका लागि उडेको थियो । तर दुर्भाग्यबस १० बजेर ५० मिनेटमा अवतरण गर्ने बेला पोखरास्थित सेती खोँचमा दुर्घटनाग्रस्त भयो । दुर्घटनामा ३० भन्दा बढीको ज्यान गइसकेको छ ।
प्रकाशित मिति २०७९ माघ १ गते आईतबार ०१:०८