काठमाडौं। प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले माओवादी आन्दोलन र त्यसका नेता कार्यकर्तामाथि प्रहार हुन थालेको बताएका छन् ।
प्रचण्डले माओवादीहरु एकताबद्ध हुनुपर्ने आवश्यकता रहेकाले पूर्वमाओवादीहरु एकीकृत हुनुपर्ने बताए ।
सर्वोच्च अदालतमा आफूविरुद्ध मुद्दा दर्ता भएसँगै प्रचण्डले दिएको यस अभिव्यक्तिले उनी थप झस्किएको देखिन्छ । त्यसैको उपजको रुपमा माओवादी एकताको आह्वानलाई लिन सकिने आधार प्रशस्तै छन् ।
शान्ति प्रक्रियापछि तीन कार्यकाल प्रधानमन्त्री भएका प्रचण्डले दोश्रो कार्यकालसम्म जनयुद्धको थालनी गरिएको दिनलाई दिवसको रुपमा मनाउने निर्णय गरेका थिएनन् । तर, छिन्नभिन्न अवस्थामा रहेका माओवादीहरु काठमाडौंमा आयोजित एक कार्यक्रममा संगै जुटेपछि उनले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय औपचारिक रुपमा गरिनु उपलब्धि भएको बताए ।
विभिन्न समयमा युद्धको बेला शहीद बनेकाहरुलाई राष्ट्रिय शहीदको रुपमा घोषणा गरिएको उनको भनाई छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति केन्द्रहरुले माओवादीविरुद्ध प्रतिक्रिया गर्न थालेको भन्दै सबै माओवादीहरु एकताबद्ध हुनुपर्ने आवश्यकता बोध गरेको उनले अभिव्यक्ति दिएका छन् ।
चौतर्फी घेराबन्दीमा परेपछि एकताको आवश्यकतालाई अति नै महत्वका साथ अघि बढाउन खोजेका प्रचण्डले आफू अहिले चर्को घेराबन्दीमा परेकाले धेरै भन्न नमिल्ने समेत बताए ।
माओवादी युद्ध र त्यसलाई संस्थागत गर्न आफ्नो ध्यान केन्द्रित बनेको भन्दै प्रचण्डले माओवादी नेताहरु सक्रिय ढंगले काममा लागेकै कारण प्रतिक्रियावादीहरु सक्रिय रहेको बताए ।
यस्तै, नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले वहालवाला प्रधानमन्त्रीलाई जिस्काउनु भनेको माओवादीलाई जिस्काउनु समान भएको बताएका छन् ।
माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोजिएको भन्दै उनले सबैलाई एकतामा आउन अपिल गरे ।तत्काल मिल्न नसक्ने अवस्थामा पनि कार्यगत एकतामा जान सकिने भट्टराईको भनाई छ ।
यता, नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोलाले पनि माओवादीले देखेका सपना पुरा गर्न सबै एकताबद्ध हुनुपर्ने बताएका छन् ।प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा देखिएका बास्तोलाले अबको एकता वैज्ञानिक समाजवाद निर्माणका लागि हुनुपर्ने आवश्यकता समेत औल्याए ।
यता, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले माओवादी युद्धलाई अपराधिकरण गर्न खोजिए अस्वीकार्य हुने चेतावनी नै दिएका छन् ।
शासन प्रणालीमाथि नै आक्रोश व्यक्त गरेका उनले अधिकारका लागि लड्नैपर्ने अवस्था आएको समेत बताए ।माओवादी नेताहरुमाथि चौतर्फी हमला शुरु भएको दाबी गर्दै आएका नेताहरु पछिल्लो समय एकताबद्ध हुनुपर्ने बताउदै आएका छन् ।
विभिन्न कारण छिन्नभिन्न रहेका पूर्वमाओवादीहरु एकताका निम्ति बाटो पहिल्याउन खोजिरहेका छन । यसैक्रममा नै अदालतमा प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न आदेश जारी भएपछि उनीहरु अन्य शक्ति विरुद्ध थप आक्रोशित देखिएका छन् ।
प्रकाशित मिति २०७९ फाल्गुण २२ गते सोमबार ०९:५९