राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपासँग भोट मागेका छन् । सोमबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा पुगेर पौडेलले अध्यक्ष लिङ्देनसहितका राप्रपा नेताहरुसँग भोट मागेका हुन् ।
जवाफमा अध्यक्ष लिङ्देनले संस्थागत निर्णय हुने जवाफ दिएका छन् । संस्थागत रुपमा राजतन्त्रको पक्षमा उभिदै आएको राप्रपा राष्ट्रपति चुनावमा मतदान गर्ने कि नगर्ने निर्णय गरेको छैन ।
पार्टीभित्र मतदानमा भाग लिनुपर्ने र लिन हुने दुवै मत भएका कारण फागुन २४ गते मात्रै निर्णय लिने राप्रपाले जनाएको छ । राष्ट्रपति चुनावमा राप्रपासँग २४५० मतभार छ ।
राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुने भएको छ। आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि मौन अबधि सुरु भएको हो।
निर्वाचन आयोगका अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि नागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था अनुसार मौन अवधि लागू हुनेछ।
‘उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न मत माग्न, एसएमएस, फेसबुक,
भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यमबाट जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरू पालना गर्न गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गर्दछ,’ आयोग भनेकाे छ।
आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुर तथा सजाय ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता २०७० को दफा १७ बमोजिम सजाय हुने बताएको छ।
राष्ट्रपतिका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।