काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविर प्रकरणमा छानबिन भएर दोषी ठहर भए आफैँ जेल जान तयार रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सोधेको प्रश्नको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविर प्रकरणमा छानबिन भएर दोषी ठहर भए आफैँ जेल जान तयार रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सोधेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
नेपाली पोसाकमा देखिनुभएकोमा तपाईँलाई धन्यवाद दिन चाहन्छु । नक्कली भुटानी शरणार्थी प्रकरणमा तपाईँहरूले चाल्नुभएको कदमप्रति हाम्रो साथ र सहयोग रहन्छ भन्ने कुरापनि जनाउन चाहन्छु ।
प्रधानमन्त्रीज्यूलाई हाम्रो पार्टीको प्रश्न के छ भने, सरकारी कर्मचारी विशेष गरेर सुरक्षाकर्मी प्रहरीहरु विगत ४ महिनादेखि तलब खान नपाएर उधारोमा काम गरिरहेका छन् । यो समस्या समाधान गर्नका लागि प्रधानमन्त्रीले के कदम चाल्नुहुन्छ र कहिले चाल्नुहुन्छ ?
मेरो अर्को प्रश्न, ८ हजार ४ सय ६० जना पूर्व माओवादी लडाकुका नाममा त्यतिखेर अरबौँ रुपैयाँ राज्यकोषबाट गएको छ । तर ति ८ हजार ४ सय ६० जना लडाकु को हुन् ? कहाँ छन् ?
उहाँहरूको नाम के हो ? यसको कहीँ कतैपनि आजसम्म कुनै रेकर्ड देखिएको छैन । प्रधानमन्त्रीज्यूलाई एउटा अवगत गराउन चाहन्छु, स्वयं प्रधानमन्त्रीज्यूले २०६४ सालमा एउटा भिडियो आयो, त्यो भिडियोमा प्रधानमन्त्रीज्यूले भन्नुभएको छ,
हामीसँग ७ देखि ८ हजारमात्र लडाकु हो, तर हामी ३५ हजार बनाउँछौं बाँकी फेक बनाउँछौं भन्नुभएको छ । त्यो भिडियोमा नक्कली लडाकु भर्ती गरेको पनि स्वीकार्नुभएको छ ।
साथै प्रधानमन्त्रीज्यूलाई अर्को कुरा म के भन्न चाहन्छु भने त्यो ८ हजार ४ सय ६० जना लडाकुको नाममा विगत ५ वर्षसम्म राज्यकोषबाट अरबौं लगेर भ्रष्टाचार भयो भन्ने तपाईँमाथि नै आरोप छ । तपाईँमाथिको यो आरोप अन्त्य गर्नका लागि संसद्को विशेष समिति गठन गरेर यसको छानबिन गर्न तपाई तयार हुनुहुन्छ ? धन्यवाद ।
प्रधानमन्त्री प्रचण्डको उत्तर:
म माननीय सदस्यलाई विगतको कुरा स्पष्ट पार्ने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु । पहिलो कुरा पूर्व माओवादी लडाकुलाई राज्यकोषबाट वितरण गरिएको रकममा व्यापक भ्रष्टाचार भयो भन्ने कुरा । यो आरोपका लागि आरोपमात्रै हो भन्ने कुरा बढो जोड दिएर भन्न चाहन्छु ।
किनकि त्यतिबेला शान्ति सम्झौता भएर क्यान्टोनमेन्टमा पूर्व जनमुक्ति सेनालाई राख्ने भइसकेपछि क्यान्टोनमेन्टको भौतिक पूर्वाधार र योद्धाहरूको रासन पानीको निम्ति भनेर राज्यबाट दिइएको रकम र त्यसको अडिट हिसाब किताब, त्यहाँ को को थिए, को कोले लिए भन्ने कुराको सबै रेकर्ड रहेको कुरा म माननीय सदस्यलाई जानकारी गराउन चाहन्छु ।
त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, डा। रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो, उहाँहरु समेतले रुजु गरिसकेपछि त्यो पटाक्षेप भइसकेको कुरा हो । यसलाई अहिले राजनीतिक आग्रह र पूर्वाग्रहका साथ उठाउने गरिएको देख्दा म आफैँ आश्चर्यमा पर्ने गरेको छु ।
इतिहासको एउटा त्यस्तो परिघटना जसले देशलाई शान्तिको नयाँ युगतिर ल्याउन मद्दत गर्यो, इतिहासको त्यो संवेदनशील घडी जतिबेला विभिन्न क्यान्टोनमेन्टमा हजारौँ लडाकुहरु राखेर देशलाई शान्तिलाई, लोकतन्त्र र परिवर्तनलाई संस्थागत गर्न मद्दत गर्यो र त्यो रकम राज्यबाट दिइयो, त्यसको अडिट भएर टुङ्गो लागिसकेको विषय पटक पटक राजनीतिक आग्रहको रुपमा ल्याइएको छ भन्ने मेरो बुझाई छ । यो पहिलो पाटो म प्रष्ट गर्न चाहन्छु ।
र यदि त्यस्तो केही छ छानबिन गर्नुपर्छ भने मैले पहिलापनि आफ्नो दलको घोषणापत्रमा २०४८ सालदेखिकै सबै घटनाहरुको, सबै उच्चपदस्थ अधिकारीहरुको सम्पत्ति छानबिनको सम्बन्धमा, या विभिन्न समयमा भ्रष्टाचारका सम्बन्धमा उठेका विषयहरुमा छानबिन गर्न म तयार छु ।
हामी सबै राजनीतिकको तहमा एउटा संकल्पका साथ सहमति गरेर जाँदा सबै विषय छानबिन गरेर जान सकिन्छ । देशमा भ्रष्टाचारबाट मुक्त, उन्मुक्तिको युग सुरु गर्न सकिन्छ । म फेरि पनि माननीय सदस्यको प्रश्नको जवाफ दिँदै भन्न चाहन्छु क्यान्टोनमेन्टको कुरा कपोलकल्पित र पूर्वाग्रही छ भन्ने मेरो दृढ विश्वास छ । फेरि पनि कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैँ जेल जान तयार रहेको पनि यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७