देशमै बनेको विद्युतीय मोटरसाइकल ‘गन्तव्य’ सार्वजनिक, मूल्य २ लाख ४० हजार

देशमै बनेको विद्युतीय मोटरसाइकल ‘गन्तव्य’ सार्वजनिक, मूल्य २ लाख ४० हजार

छाँयापाटी

@छाँयापाटी

२०८० जेठ ५ गते शुक्रबार ०५:०९

काठमाडौँ सुन्दर इन्जिनियरिङले स्वदेशमा उत्पादन गरेको नयाँ विद्युतीय मोटरसाइकल 'गन्तव्य' सार्वजनिक गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नतेको उपस्थितिमा विद्युतीय बाइक ‘गन्तव्य’ सार्वजनिक गरिएको हो । पछिल्लो...

काठमाडौँ

सुन्दर इन्जिनियरिङले स्वदेशमा उत्पादन गरेको नयाँ विद्युतीय मोटरसाइकल ‘गन्तव्य’ सार्वजनिक गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नतेको उपस्थितिमा विद्युतीय बाइक ‘गन्तव्य’ सार्वजनिक गरिएको हो ।

पछिल्लो समय नेपालमा विद्युतीय सवारीको माग बढ्न थालेको अवस्थामा स्वदेशमै बनेको नयाँ विद्युतीय बाइक सार्वजनिक गर्दा खुसी लागेको सुन्दर इन्जिनियरिङ का अध्यक्ष भेषबहादुर थापाले बताए ।

पहिलो एक महिना खरिद गर्नेलाई लागत मूल्यमै मोटरसाइकल बिक्री गर्ने थापाले बताए । हाल यो बाइकको मूल्य २ लाख ४० हजार रुपैयाँ राखिएको थापाको भनाइ छ । ३ वर्षसम्म वारेन्टी समेत दिइएको थापाले बताए । उनका अनुसार १ पटक ब्याट्री पूरा चार्ज गरेपछि यो मोटरसाइकल १०० किलोमिटर गुड्छ ।

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय साधनको प्रयोगलाई प्राथमिकतामा राखेको बताए । ‘ऊर्जामा सबैको पहुँच र ऊर्जा सुरक्षालाई सुनिश्चित गर्दै ऊर्जाबाटै मुलुकको समृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले विद्युतीय सवारीलाई व्यापक बनाउने सरकारको प्राथमिकता हो ।उनले भने ‘सरकारले विद्युतीय साधनको प्रयोगलाई पनि प्राथमिकतामा राखेको छ ।’

मन्त्री बस्नेतले पेट्रोलियम सवारीलाई विद्युतीय बनाउने प्रयासले नेपाल र नेपाली दुवैले फाइदा लिन सक्ने भन्दै काठमाडौं लगायत अन्य क्षेत्रमा ट्रली बस सञ्चालनका लागि सरकार सक्रीय रहेको बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आगामी दिनमा चार्जिङ स्टेसन निर्माणदेखि अन्य विभिन्न समस्याहरुलाई समाधान गर्न सरकारले निरन्तर सहयोग गर्ने बताए ।

कार्यक्रममा अध्यक्ष थापाले नेपालमा विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेर कार्य गरिदिन मन्त्री बस्नेत तथा सचिव घिमिरेलाई आग्रह गरे । सुन्दर अटो इन्जिनियरिङले विद्युतीय सवारी साधन उत्पादन तथा मोटरसाइकलको नामाकरण, कम्पनीको नामाकरण लगायतका कार्यक्रममा भूमिका खेलेको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो ।

 

 

प्रकाशित मिति २०८० जेठ ५ गते शुक्रबार ०५:०९
प्रतिक्रियाहरु