ओली सरकारको विकल्प खोज्न सकेका छैनौं चाडै बिदाई गर्ने छौ : नेपाल

ओली सरकारको विकल्प खोज्न सकेका छैनौं चाडै बिदाई गर्ने छौ : नेपाल

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत २९ गते आईतबार ११:२८

वीरगन्ज - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसदमा आफूहरु अल्पमतमा रहेकाले केपी ओली सरकारको विकल्प खोज्न नसकेको बताएका छन्। उनले नयाँ सरकार गठनका लागि प्रतिपक्ष र विपक्षी दलहरु सबै मिलेर लागे आफूहरुले नरोक्ने पनि प्रष्ट...

वीरगन्ज – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसदमा आफूहरु अल्पमतमा रहेकाले केपी ओली सरकारको विकल्प खोज्न नसकेको बताएका छन्। उनले नयाँ सरकार गठनका लागि प्रतिपक्ष र विपक्षी दलहरु सबै मिलेर लागे आफूहरुले नरोक्ने पनि प्रष्ट पारे।

वीरगन्जमा आइतबार प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता नेपालले भने, ‘सबै प्रतिपक्षी र विपक्षी दलहरु मिलेर ओली नेतृत्वको सरकार हटाउन लागे भने हामी रोक्दैनौं।’ नेता नेपालले आफूहरुको लडाइ पद र सत्ताका लागि नभइ विधि र पद्धतिका लागि भएको बताए।

सर्वोच्च अदालतको फैसलाले नेकपालाई फुटाएर एमाले र माओवादी केन्द्र ब्यूत्याएपछि एमालेलाई एकताबद्ध बनाउन र पार्टीमा शुद्धीकरणका लागि देशभर आफूहरुले अभियान चलाएको उनले बताए। त्यही अभियान अन्तर्गत जिल्ला जिल्लामा समनान्तर कमिटी गठन गर्दै हिंडेको उनको भनाइ छ।

 

उनले केपी ओली एमालेमा एउटा सानो गुटको नेता मात्रै भएको आरोप पनि लगाए।नेपालले भने, ‘एकै जना व्यक्ति सधैं पद र कुर्सीमा रहिरहनुपर्छ भन्ने मानसिकताको विरोध हामीले गरेका हौं।’ सबैतिरबाट बहुमत नभएपछि बाहिरबाट थपेर बहुमत पुर्‍याउने नाममा ओलीले विधि र विधानलाई मिचेको उनले बताए।

उनले भने, ओलीले खाए खा नखाए घिच् भने जस्तै गरेका छन् तर हामी ओलीको टाङमुनि छिर्न चाहेनौं।’ ओली गुटले आफूलाई कार्वाही गरेको निर्णय कागजमा मात्र सिमित रहेकाले कोही पनि नेता कार्यकर्तालाई नआत्तिन नेता नेपालले आग्रह गरे।

 

प्रकाशित मिति २०७७ चैत २९ गते आईतबार ११:२८
प्रतिक्रियाहरु