काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पद रिक्त भएकाे छ।नेकपा (माओवादी केन्द्र) ले बादलले दल त्याग गरेको र अहिले आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि बादलको पद रिक्त भएको हो।
संसद सचिवालयले आज एक सूचना जारी गर्दै बादलको राष्ट्रिय सभा सदस्य पद रिक्त भएको जानकारी दिएको छ। बादल अहिले गृहमन्त्री पनि छन्। सांसद नरहेपछि उनको मन्त्री पद पनि जानेछ।
तर, संविधानको व्यवस्थाअनुसार सांसद नरहे पनि मन्त्री हुन पाइने भएकोले बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्न सक्नेछन्।प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि पनि माओवादीबाट कारवाहीमा परेर सांसद र मन्त्री पद गुमाएका चार जना मन्त्रीहरुलाई पुनः मन्त्रीमा नियुक्त गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार डाक्नुभएको सर्वदलीय बैठकमा कोरोनाको दोस्रो लहर नियन्त्रण, सङ्घ, प्रदेश र स्थानीय तहमा रिक्त रहेका स्थानमा उपनिर्वाचन र करिब दुई वर्षदेखि सदनमा थन्किएको एमसीसीका विषयमा गम्भीर छलफलपछि केही महìवपूर्ण विषयमा सहमति जुटेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैशाख ७ गतेअघि नै कार्यव्यवस्था समितिको बैठक राखेर एमसीसीलगायत प्रस्ताव सदनमा ल्याउन सहमति जुटेको जनाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सर्वदलीय बैठकले सरकारको प्रस्ताव स्वेच्छाचारी ढङ्गले सभामुखले रोक्न नमिल्ने निष्कर्ष निकालेको छ ।
दुई वर्षदेखि सभामुखले एमसीसी रोकेर राख्नुभएकाले वैशाख ७ गतेअघि नै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रस्ताव सदनमा ल्याउने विषयमा दलहरूबीच सहमति जुटेको हो । बैठकपछि परराष्ट्रमन्त्री तथा नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भन्नुभयो, “जे निर्णय गर्ने हो, सदनले गर्छ ।
सभामुखले सरकारका बिजनेस लामो समय रोकेर राख्न मिल्दैन ।बैठकमा दलहरूबीच स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको उपनिर्वाचन संविधान र कानुनबमोजिम छिट्टै गर्नुपर्ने विषयमा समेत सहमति जुटेको छ ।
भदौमा प्रस्ताव गरिएको नेपाली काँग्रेसको महाधिवेशन प्रभावित नहुने गरी निर्वाचन कार्ययोजना तयार गर्न बैठकमा काँग्रेसले माग गरेको थियो । प्रधानमन्त्री ओलीले सबैको परामर्शअनुसार उपनिर्वाचनको कार्यतालिका बनाइने धारणा बैठकमा राख्नुभएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
प्रकाशित मिति २०७८ बैशाख ५ गते आईतबार १०:५७