काठमाडौं, बैशाख ५ -: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको बताउनुभएको छ’ । नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तकको आज विमोचन गर्दै उहाँले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठन नहुने स्पष्ट गर्नुभयो ।
‘सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएका छन्, माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिएसम्म वर्तमान सरकार बहुमतमै छ’, उहाँले भन्नुभयो ‘। माओवादीले अविश्वासको प्रस्ताव फिर्ता लिएमा कांग्रेसले सरकार गठन गर्न अग्रसरता लिने उहाँको भनाइ थियो । सभापति देउवाले संस्कृतिसम्बन्धी श्रेष्ठको पुस्तक शोधकार्यका लागि महत्वपूर्ण, पठनीय र सङ्ग्रहणीय भएको पनि बताउनुभयो ।
कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल सांस्कृतिक हिसाबले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको सांस्कृतिक पक्षको खोज/अनुसन्धान अझै गरिनुपर्ने बताउनुभयो ‘। कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामाले विविधतापूर्ण समाजको विविध संस्कृतिलाई एकै ठाउँमा उतार्नु भनेको चानचुने कुरा नभएको जनाउँदै यस्तो महत्वपूर्ण ग्रन्थलाई विश्वविद्यालयको पाठ्यक्रममा स्थान दिनुपर्ने सुझाव दिनुभयो ।
लेखक श्रेष्ठको पुस्तकमा आठपहरिया, राई, कुमाल, गुरुङ, चेपाङ, तामाङ, थारू, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, मगर, माझी, मेचे, राउटे, राजवंशी, शेर्पा, सतार र हायु जातिका संस्कार तथा संस्कृतिका विषयमा अनुसन्धानमूलक लेख रहेका छन् । पाँच सय १२ पृष्ठको उक्त पुस्तकलाई आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो ‘।
प्रकाशित मिति २०७८ बैशाख ५ गते आईतबार ०९:१४