देउवाजी प्रधानमन्त्री बन्न सक्नु हुन्न ,उपेन्द्रजीलाई कारबाही हुन्छ : महतो

देउवाजी प्रधानमन्त्री बन्न सक्नु हुन्न ,उपेन्द्रजीलाई कारबाही हुन्छ : महतो

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख २८ गते मङ्गलबार १०:५०

काठमाडौं -: नेपाली काँग्रेस र माओवादी केन्द्र सम्मिलित गठबन्धन सरकारका लागि जनता समाजवादी पार्टी (जसपा)मा देखिएको मत विभाजन बाधक बनेको छ । जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोले सत्ता गठबन्धनको नयाँ प्रयासमाथि आपत्ति जनाएका छन्...

काठमाडौं -: नेपाली काँग्रेस र माओवादी केन्द्र सम्मिलित गठबन्धन सरकारका लागि जनता समाजवादी पार्टी (जसपा)मा देखिएको मत विभाजन बाधक बनेको छ । जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोले सत्ता गठबन्धनको नयाँ प्रयासमाथि आपत्ति जनाएका छन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष दुई भागमा विभाजन हुँदा नयाँ सरकार निर्माणका लागि उल्झन खडा भएको हो । अब नयाँ सरकार गठनका लागि काँग्रेस र माओवादीलाई सिंगो जसपाको साथ आवश्यक छ ।

तर, जसपाको ठाकुर पक्षले नयाँ सरकार निर्माणको पक्षमा नरहेको जनाएको छ । अध्यक्ष ठाकुरले वक्तव्य नै निकालेर नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने बताएका छन् ।

‘राष्ट्रपतिजीले दुई वा दुई भन्दा बढी दल बहुमत प्राप्त सदस्यले सरकार बनाउन सक्ने भनेको छ,’ जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले भने, ‘त्यसमा जसपा पार्टी सरकारमा जाने छैन । जसपा सरकारमा जाँदैन भने कुनै व्यक्ति सरकारमा जान्छु भनेर जान पाउँदैन । यहाँ राष्ट्रपतिजीले पार्टी पो बोलाउनुभएको छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत लिन नसकेको जानकारी संसद् सचिवालयले गराएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन् ।

संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

तीन दिनभित्र जसपाको औपचारिक विभाजन सम्भव नभएको जसपा वरिष्ठ नेता राजेन्द्र महतोले रजानकारी दिए । उपेन्द्र यादवको मात्र हस्ताक्षर गरेर गठबन्धन सरकार निर्माण नहुने महतोको जिकिर छ ।

जसपा एउटा पार्टी हो । कुनै व्यक्ति सरकारमा जान्छु भनेर विज्ञप्ति निकाल्दैमा कसरी सरकार बन्छ ? उपेन्द्र यादव भनेको दल होइन । जसपाको प्रत्येक अध्यक्ष दल हो, म यो गर्छु भन्न पाउँदैन । त्यस्तो हो भने जो प्रथम अध्यक्षले लिने निर्णय नै पार्टीको आधिकारिक लाइन हुन्छ,’ उनले भने ।

वैकल्पिक शक्ति निर्माणमा जुटेका जसपामा हजारौं कार्यकर्ता उपेन्द्र यादवलाई कुर्सी दिलाउन पार्टी विभाजन गर्ने पक्षमा नरहेको महतोको भनाइ छ । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार बनाउन नक्ने पनि महतोले दाबी गरे ।

देउवाजी सरकार बनाउन सक्नुहुन्न । राष्ट्रपतिजीलाई पार्टी चाहिएको हो । म फेरि पनि भन्छु जसपा सरकारमा जाँदैन जाँदैन…,’ उनले भने । आफ्नै लचकताका कारण आजसम्म जसपालाई विभाजनबाट रोक्ने काम गरेको महतोले बताए । तर, अब उपेन्द्र यादवमाथि कारबाही हुने उनको भनाइ छ ।

प्रकाशित मिति २०७८ बैशाख २८ गते मङ्गलबार १०:५०
प्रतिक्रियाहरु