इलाम -: लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्बासीलाई प्रदेश नं १ सरकारले लालपुर्जा वितरण गर्ने भएको छ । माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका ६ हजार पाँच सय १५ घरपरिवारलाई पहिलो चरणमा लालपुर्जा प्रदान गर्न लागिएको हो ।
प्रदेश सरकारले सुकुम्बासी नागरिकलाई लालपुर्जा वितरणका लागि प्रदेश नं १ का ३० स्थानीय तहका एक लाख नागरिकलाई लालपुर्जा वितरण गर्नेछ । यसका लागि प्रक्रिया अघि बढेको भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
आयोगले भूमिहीन÷सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्नका लागि स्थानीय तहका पदाधिकारीबीच समझदारीपत्रमा हस्तान्तरण गरेको छ । माई नगरपालिकामा नौ सय ५७ घरपरिवार सुकुम्बासी छन् । यस्तै तीन हजार दुई सय ३८ घरपरिवार भने अव्यवस्थितरूपमा बसोबास गरिरहेकाको संख्या हो । सुकुम्वासी र अव्यवस्थित गरी चार हजार एक सय ९५ घरपरिवार सुकुम्बासी रहेको प्रदेशको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै माङसेबुङ गाउँपालिकामा ४९ दलित सुकुम्वासी, चार सय ७१ अन्य समुदायका सुकुम्बासी र एक हजार आठ सय अव्यवस्थित गरी दुई हजार तीन सय २० घरपरिवार सुकुम्बासी रहेका छन् । सरकारले भूमि सम्बन्धी ऐन २०२१ को आठौं संशोधन पछि नियमावलीको १८ औं संशोधनका आधारमा नौ वटा कार्यविधि तयार पारेर काम थालेको आयोग अध्यक्ष ज्ञवालीको भनाइ छ । यसका लागि आगामी फागुनसम्ममा लगत संकलनका लागि पालिकाले नागरिकको घरमै पुगेर फाराम भराउनु पर्नेछ ।
प्रकाशित मिति २०७७ पुस ४ गते शनिवार ०३:१२