काठमाडौं -: सत्तारुढ ५ दल आवद्ध गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको छ ।नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा नेपालको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ ।
असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि गठबन्धनमा रहेका दलहरुबीचको सहमतिबाट सरकारका कामकारबाहीलाई सहयोग गर्न भन्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ७ सदस्यीय कार्यदल बनाइएको थियो।
कार्यदलले सरकारको न्यूतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको छ । कार्यदलले तयार पारेको मस्यौदालाई शीर्ष नेतृत्वबाट अन्तिम रुप दिने तयारी भइरहेको छ । कार्यदलले नै सरकारमा सहभागी हुने दलबीच मन्त्रीको भागबण्डाको काम समेत गरिरहेको छ ।
कार्यदलका संयोजक खड्काले सरकारले गर्ने कामका विषयको सन्दर्भमा रहेर न्यूनतम साझा कार्यक्रम बनाइँदै गरेको बताए । ‘सरकारसँग सम्बन्धित विषयमा न्यूनतम कार्यक्रम बनाउँदैछौं, सरकारले के–के गर्ने भन्ने कुरा हामीले साझा कार्यक्रममा ल्याउँदै छौं, ड्राफ्ट तयार हुँदैछ,’ कार्यदलका संयोजक खड्काले भनेका छन् ।साझा कार्यक्रमको तयार मस्यौदामा प्रारम्भमा गठबन्धनलाई बलियो बनाउन साझा कार्यक्रमको आवश्यकता महसूस गरिएको उल्लेख गरिएको छ।
कार्यदलले तयार गरेको सरकारको साझा कार्यक्रममा अहिलेको अवस्थामा जनताको स्वास्थ्य सरोकारसँग प्रत्यक्ष जोडिएको कोरोना संक्रमण नियन्त्रणको विषयलाई प्राथमिकतामा राखिएको छ ।अघिल्ला सरकारले विभिन्न निकाय र क्षेत्रमा गरेका देशभरका राजनीतिक नियुक्तिका विषयलाई प्रक्रिया पुर्याएर कसरी खारेजीको प्रक्रियामा लैजाने भन्ने विषय समेत उल्लेख छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उठाउँदै आइरहेको संविधान संशोधनको मुद्दाका विषय समेत सरकारको साझा कार्यक्रममा राखिएको छ । संविधान संशोधनका लागि कार्यदल बनाउने विषय साझा कार्यक्रममा आउँदैछ ।
गठबन्धनमा आबद्ध दलहरूबीच गरिने काम र सहकार्यका विषयलाई पनि सरकारको साझा कार्यक्रममा राखेर गठबन्धनको शक्तिलाई थप बलियो बनाउने विषय पनि सरकारको न्यूनतम साझा कार्यक्रममा उल्लेख गरिएको छ ।कार्यदलका सदस्य कांग्रेस नेता रमेश लेखकले सरकारले गर्नुपर्ने न्यूनतम कार्यक्रम साझा कार्यक्रममा आउने बताएका छन् ।
‘सरकारले के–के काम गर्ने, सरकारको प्राथमिकता के हो भन्ने कुरा न्यूनतम साझा कार्यक्रममा आउँछ, केही विषयमा अघिल्ला सरकारले गरेका कामको पनि समीक्षा हुन्छ,’ कार्यदलका सदस्य लेखकले भनेका छन् ।
कार्यदलले केही दिन भित्रमा नै न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएर शीर्ष नेतृत्वलाई बुझाउने र शीर्ष नेतृत्वबाट पास भएपछि सरकारले सोही नीतिअनुसार काम गर्ने जनाइएको छ ।
कार्यदलमा कांग्रेसबाट डा. मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादीबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।मिडिया डबली डट कम
प्रकाशित मिति २०७८ साउन १८ गते सोमबार ०८:३४