काठमाडौं -: जापान सरकारले नेपाल सरकारलाई दिने भनेको १६ लाख डोज मध्ये ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप नेपाल आइपुगेको छ ।
कतार एयरवेजबाट खोप आज बिहान १० बजेर ३० मिनेटमा नेपाल आइपुगेको हो । जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत युताका किकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खोप हस्तान्तरण गर्नु भएको छ ।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जापान सँग नेपालको सम्बन्ध पुरानो रहेको भन्दै खोप हस्तान्तरण गरेकोमा धन्यवाद दिनु भएको छ ।खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेल लगायत युनिसेफका प्रतिनिधिको सहभागिता रहेको थियो ।
देशभर एक हजार ४३३ खोप केन्द्र थप
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताउनुभयो ।
उनका अनुसार देशभर नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो संख्या चार हजार ४२२ पु¥याइएको छ । यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पु¥यायाइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए ।
सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको हो । अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।
प्रकाशित मिति २०७८ साउन २३ गते शनिवार ११:४३