प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताभित्रकै प्रतिपक्षीका कारण प्रतिनिधि सभा विघटन गर्नुपरेकाे बताउनुभएकाे छ ।विघटित प्रतिनिधि सभामा आफू पक्षका सांसद्हरुसँगकाे छलफलमा प्रधानमन्त्री ओलीले साे कुरा बताउनुभएकाे हाे । आफू पक्षका सांसद् तथा नेकपा केन्द्रीय सदस्यलाई बालुवाटार बाेलाएर प्रधानमन्त्रीले छलफल गर्नुभएकाे थियाे ।
छलफलका क्रममा विशेष सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकता विपरित अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाग्दा अहिलेकाे अवस्था आएकाे बताउनुभयाे ।प्रधानमन्त्रीकाे भनाइ छ – ‘देश र कम्युनिष्ट आन्दाेलनलाई अघि बढाउन , संविधान कार्यान्वयन गर्न र जनताकाे जीवनस्तर उकास्न हामीले पार्टी एकीकरण गरेका थियाैं तर प्रचण्डले यसलाई सत्ता कब्जाकाे दाउपेचमा लिनुभएकाे रहेछ ।’
सकारलाई स्थापित हुन नदिने र आफैले विराेध गर्ने प्रचण्डकाे दाेहाेराे व्यवहारले अप्ठेराेमा परेकाे प्रधानमन्त्रीले बताउनुभएकाे भेलामा सहभागी नेकपा सांसद् खिमलाल भट्टराईले जानकारी दिनुभयाे । ‘आफै बलियाे हुने र सत्ता कब्जा गर्ने मानसिकताबाट उहाँ अघि बढ्नुभयाे, त्यसकारण समस्या सर्जना भयाे र याे अवस्था आयाे’- प्रधानमन्त्रीकाे भनाइ छ ।
जनताका बीचमा जाने कुरा अलाेकतान्त्रिक हुन नसक्ने प्रधानमन्त्रीकाे भनाइ छ । सदन र सरकार चल्न नसक्ने परिस्थिति बनेपछि प्रतिनिधि सभा विघटन गर्नुपरेकाे प्रधानमन्त्रीले प्रष्ट पार्नुभयाे ।
अबकाे परिस्थितिकाे नेतृत्व आफूले गर्ने पनि प्रधानमन्त्रीले बताउनुभएकाे भट्टराईले जानकारी दिनुभयाे । ‘मेराे स्वास्थ्य राम्राे छ, आगामी चुनावकाे नेतृत्व मैले गर्छु, फेरि पनि कम्युनिष्ट आन्दाेलनलाई अगाडि बढाउन सकिन्छ ।चुनाव हुने भन्दै प्रधानमन्त्री ओलीले तयारी गर्न सांसद् र नेतालाई आग्रह गर्नुभएकाे थियाे ।
भेलामा विघटित प्रतिनिधि सभामा ओली पक्षमा सांसद्सहित नेकपाका केही केन्द्रीय सदस्य पनि सहभागी हुनुभएकाे थियाे । भेलामा अर्थमन्त्री तथा नेकपा महासचिव विष्णुप्रसाद पौडेल, विघटित प्रतिनिधि सभामा नेकपा संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङ, उपप्धानमन्त्री ईश्वर पोखरेल र आपूर्तिमन्त्री लेखराज भट्ट सहभागी हुनुहुन्छ ।भेलामा रामबहादुर थापा सहभागी हुनुभएकाे छैन । उहाँले पुल्चाेकस्थित मन्त्री क्वाटरमा केही नेतासँग छलफल गरिरहनुभएकाे बताइएकाे छ । सनराइज खबर बाट
प्रकाशित मिति २०७७ पुस ६ गते सोमबार ०४:१४