काठमाडौँ -: कांग्रेस नेता गगन थापाले आसन्न महाधिवेशनबाट आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु एक भए पनि जित्ने तागत कांग्रेसले आर्जन गर्नुपर्ने बताएका छन् ।
ढिलो चाँडो हुनसक्छ । तर अब पार्टीको महाधिवेशन हुन्छ । यो महाधिवेशनबाट बाहिर निस्किनेबित्तिकै हाम्रो अगाडि लगातार तीन तहको चुनाव आउँछ,
शनिबार कांग्रेसको काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले भने, कांग्रेस अर्काले पस्केको खाने जात होइन । हामी आफैँले एकल शक्तिको आधारमा काठमाडौं महागनरमा कांग्रेसको झण्डा गाड्ने हो । र यो पटक कोहीसँग मिलेर होइन, एकल शक्तिका आधारमा पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसले लिने हो ।
उनले महाधिवेशनबाट कांग्रेसले सबै कम्युनिस्ट एक भएर आए पनि, सबै मधेसी दलहरु एक भएर आए भने पनि जित्ने तागत राख्ने नेतृत्व र संगठन निर्माण गर्नुपर्ने बताए ।
‘सबै कम्युनिस्ट एक भएर आए पनि, सबै मधेसी दलहरु एक भएर आए भनेपनि जित्ने तागत राख्ने नेतृत्व र संगठन निर्माण गर्नुपर्नेछ अबको ५/६ महिनाभित्रमा । त्यसैले तपाईहरुले विवेकपूर्ण निर्णय गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हामीले वडामा गरौँ या महानगरमा गरौँ । ती प्रत्येक निर्णयले अर्थ बोकेको हुन्छ ।
हामी पार्टीभित्र परिवर्तन चाहन्छौँ कि चाहदैनौँ ? आज कांग्रेस जसरी चलेको छ, यो ठीक छ ? हामी यो यथास्थितिमा टिकाउन चाहन्छौँ ? या परिवर्तन चाहन्छौँ ? यो हलबाट निर्णय भएर आउनुपर्छ ।’
नेता थापाले यो महाविधेशनले कांग्रेसमा शुद्धीकरण र संगठन सुदृढीकरण गर्नुपर्ने खाँचो रहेको बताए ।म एउटा कांग्रेसको कार्यकर्ता भएको हिसाबले ठान्दछु, आज जसरी कांग्रेस चलेको छ, यसै गरी चलेको कांग्रेसले जनतालाई भरोसा दिलाउन सक्दैन । कांग्रेसभित्र ठूलो सुधारको खाँचो छ । कांग्रेसलाई शुद्धीकरणको खाँचो छ, सुदृढीकरणको खाँचो छ,’ थापाले भने,त्यो शुद्धीकरण र सुदृढीकरण यो महाधिवेशनबाट गर्नुपर्ने छ ।
प्रकाशित मिति २०७८ असोज १६ गते शनिवार ०१:४५