उद्योगमन्त्री हमालले भने, ‘राजीनामा तयार छ, आजै प्रधानमन्त्रीलाई बुझाउँछु’

उद्योगमन्त्री हमालले भने, ‘राजीनामा तयार छ, आजै प्रधानमन्त्रीलाई बुझाउँछु’

छाँयापाटी

@छाँयापाटी

२०७८ असोज २४ गते आईतबार १०:०५

काठमाडौं : नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन्। हमालले आइतबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र...

काठमाडौं : नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन्। हमालले आइतबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट कांग्रेसको नाममा मन्त्री बनेको भन्दै चोतर्फि आलोचना भएपछि उनले राजीनामा दिने घोषणा गरेका हुन्।

हमालले अन्नपूर्णसँग भने, ‘म राजीनामा दिने पक्षमा गएँ। मैले राजीनामाको जानकारी दिइसकेको छु। त्यत्तिकै विवादमा किन पर्ने भनेर मैले मेरो स्वविवेक प्रयोग गरेँ। आज गएर प्रधानमन्त्रीलाई राजीनामा बुझाउँछु।’

प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा स्वीकृत गराउन बा​ध्य पार्न आफूले मिडियामा राजीनामा दिन लागेको जानकारी गराएको उनको स्पष्टोक्ति छ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा संसद् नै नभएका गजेन्द्र हमाल नियुक्त गरेका थिए। गैह्र सांसद हमाललाई मन्त्री बनाएपछि कांग्रेसभित्रै असन्तुष्ट बढेको छ।

कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्ने दाबी गरेका छन् । मन्त्रिपरिषद् विस्तारमा गठबन्न सरकारले प्रधानन्यायाधीशनिकट गैह्रसांसद गजेन्द्र हमाललाई उद्योगमन्त्रीमा नियुक्त गरिएकोप्रति संकेत गर्दै उनले लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र नपुग्ने बताएका थिए। थापाले निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउने उल्लेख गरेका थिए।

यता सत्ता गठबन्धनका साझेदारी दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको नाम मुछिएको विषयलाई प्रचण्डले हमाल कांग्रेसको कोटामा मन्त्री भएको भन्दै बचाउ गरेका छन्। प्रचण्डलेले कांग्रेसको अध्यक्ष भइसकेको मान्छेलाई अनावश्यक रुपमा उचालिएको दाबी गर्दै होहल्ला गर्नु कुनै आवश्यक नभएको दाबी गरेका थिए।

कांग्रेसका असन्तुष्टि बढेपछि देउवाले भने मन्त्रिमण्डल विस्तारमा छुटेका साथीहरुलाई आगामी दिनमा पार्टीमा उचित जिम्मेवारी दिने आश्वसन दिएका छन्। उनले गठबन्धनको सरकार भएकाले कांग्रेसका क्षमतावान र सक्षम नेतालाई मन्त्री बनाउन नसकेको बताएका छन्।

प्रकाशित मिति २०७८ असोज २४ गते आईतबार १०:०५
प्रतिक्रियाहरु