साफ च्याम्पियनसिप : फाइनल प्रवेशका लागि नेपाल बंगलादेशसँग भिड्दै

साफ च्याम्पियनसिप : फाइनल प्रवेशका लागि नेपाल बंगलादेशसँग भिड्दै

छाँयापाटी

@छाँयापाटी

२०७८ असोज २७ गते बुधबार ०८:५१

काठमाडौं -: साफ च्याम्पियनसिप : फाइनल प्रवेशका लागि नेपाल बंगलादेशसँग भिड्दै माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे...

काठमाडौं -: साफ च्याम्पियनसिप : फाइनल प्रवेशका लागि नेपाल बंगलादेशसँग भिड्दै माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे माले रंगशालामा सुरु हुनेछ ।

आजको खेलमा बराबरी मात्रै गरे पनि नेपाल फाइनलमा पुगेर इतिहास रच्ने अवसर छ ।

प्रिम्याच कन्फ्रेन्समा बोल्दै सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाललाई इतिहास रच्ने मौका र विश्वास रहेको बताएका छन् ।

नेपाल र बंगलादेश फुटबल इतिहासमा २२ पटक आमनेसामने खेल भएका छन् । तीमध्ये १३ खेलमा बंगलादेश र ७ खेलमा नेपाल विजयी भएको छ । दुई खेल बराबरी भएको छ ।

साफ च्याम्पियनशीपमा भने नेपाल र बंगलादेश सातपटक आमनेसामने भएका छन् । जसमा नेपालले तीनपटक र बंगलादेशले चारपटक जीत हासिल गरेका छन् ।

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा हालसम्म नेपाल पुग्न सकेको छैन। पाकिस्तानले आयोजना गरेको सो पहिलो साफमा नेपाल तेस्रो स्थानमा रह्यो। फाइनलमा पुग्न त्यसबेला आयोजक पाकिस्तान बाधक बनेको थियो।

हालसम्म तेस्रो स्थानभन्दा माथिल्लो उपलब्धि नेपालले हासिल गर्न सकेको छैन।

यसपटक भने नेपाल फाइनल पुग्ने लक्ष्यमा रहेको छ। अहिले नेपाल त्यो लक्ष्य नजिक रहेको छ। बुधबार (आज) हुने खेलले नेपालको लक्ष्य पूरा हुने/नहुने निश्चित गर्नेछ। आज नेपालले बंगलादेशको सामना गर्दैछ भने अर्को खेलमा भारत र आयोजक माल्दिभ्स भिड्दैछन्।

सिंगल राउन्डरोबिनका आधारमा खेलाइएको तीन खेलबाट ६ अंक रहेको नेपालले आज बंगलादेशसँग बराबरी गरे मात्रै पनि फाइनलको यात्रा तय गर्नेछ। बंगलादेश भने जित्नै पर्ने दबाबमा रहेको छ। उसले तीन खेलमध्ये एउटामा जित, एकमा बराबरी र एकमा हार व्यहोर्दै ४ अंक बटुलेको छ।

माल्दिभ्स र भारतको समेत खेल उस्तै रहेको छ। भारत जित्नै पर्ने दबाबमा छ भने आयोजक माल्दिभ्स कम्तिमा बराबरीको लक्ष्यमा रहेको छ। भारत र माल्दिभ्सबीचको खेल बराबरी भए भारत बाहिरिने छ भने माल्दिभ्स घरेलु मैदानमा फाइनल पुग्नेछ। यसर्थ आजका खेललाई सेमिफाइनलका रूपमा हेरिएको छ।

श्रीलंका भने तीन खेलमा हार र एक खेलमा ड्र भएर च्याम्पियनसिपबाट बाहिरिसकेको छ। त्यस्तै कोभिड महामारीका कारण भुटानले खेलमा भाग लिएको छैन भने पाकिस्तान फिफाको प्रतिबन्धका कारण च्याम्पियनसिपभन्दा बाहिर रहेको छ। त्यस्तै अफगानिस्तानले भने सन् २०१३ मा एकपटक मात्र खेलेको छ।

फाइनलमा नेपाल यसरी पुग्न सक्छ
नेपालले आज बंगलादेशसँग कम्तिमा बराबरी गर्नुपर्नेछ। लगातार दुई खेल जितेको नेपाल तेस्रो खेलमा भारतसँग १–० ले पराजित भएपछि फाइनल यात्रा एक तह कठिन बनेको थियो।

आज अपराह्न ४:४५ बजे हुने खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको खण्डमा सहज रूपमा फाइनलमा पुग्नेछ। हार व्यहोरेको खण्डमा भने नेपाल घर फर्किन बाध्य हुनेछ।

बंगलादेशसँगको हेड टु हेड 
पछिल्लो पटक नेपाल र बंगलादेश मार्चमा खेलेका थिए। थ्री नेशन कप अन्तर्गतको सो खेलमा नेपाल २–१ ले विजयीको थियो। साफ च्याम्पियनसिप अन्तर्गतका ५ खेललाई हेर्ने हो भने नेपालले ३ पटक जित्दा बंगलादेशले एकपटक जितेको छ भने एउटा खेल ड्र भएको छ। समग्र खेल हेर्दा बंगलादेश हाबी भएको देखिन्छ।

सन् १९८३ देखि हालसम्म नेपालले ७ पटक जित हात पार्दा बंगलादेशले १३ पटक खेल आफ्नो पक्षमा पारेको छ। त्यस्तै दुई खेल ड्र भएका छन्।

प्रकाशित मिति २०७८ असोज २७ गते बुधबार ०८:५१
प्रतिक्रियाहरु