भारतको निर्णयले नेपालबाट खानेतेल निर्यात ठप्प, उल्टै आयात बढ्नसक्ने तर सरकार बेखबर

भारतको निर्णयले नेपालबाट खानेतेल निर्यात ठप्प, उल्टै आयात बढ्नसक्ने तर सरकार बेखबर

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक २ गते मङ्गलबार १०:४२

विराटनगर, १ कार्तिक -:  भारत सरकारले खाने तेलहरु पाम, भटमास र सुर्यमुखीको कच्चा तेल आयातमा लगाउँदै आएको भन्सार महसुल अत्यधिक घटाएपछि नेपालबाट भारततर्फ गरिने तेल निर्यात ठप्प हुने भएको छ । भारत सरकारले नोटिफिकेशन जारी गर्दै कच्चा...

विराटनगर, १ कार्तिक -:  भारत सरकारले खाने तेलहरु पाम, भटमास र सुर्यमुखीको कच्चा तेल आयातमा लगाउँदै आएको भन्सार महसुल अत्यधिक घटाएपछि नेपालबाट भारततर्फ गरिने तेल निर्यात ठप्प हुने भएको छ ।

भारत सरकारले नोटिफिकेशन जारी गर्दै कच्चा पाम आयल आयातमा ८ दशमलब २५ प्रतिशत तथा कच्चा भटमास र सुर्यमुखी तेल आयातमा साढे ५ प्रतिशत भन्सार महसुल कायम गरेको छ ।

यसअघि भारतमा यी तेलहरुको कच्चा पदार्थ आयातमा ३० प्रतिशत भन्सार महसुल लाग्दै आएको थियो । भारतमा अत्यधिक भन्सार भएको र नेपालबाट निर्यात गर्दा छुट पाएका कारण नेपाली उद्योगहरुले कच्चा पदार्थ आयात गरी भारततर्फ पाम र भटमासको तेल निर्यात गर्दै आएका थिए । भारत सरकारको निर्णयले नेपालबाट भारततर्फ पाम र भटमासको तेल निर्यात पूर्णरुपमा बन्द हुने र उताको तेल सस्तो हुने भएपछि उल्टो नेपालतर्फ आयात हुने सम्भावना बढेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्धडाले बताउनुभयो ।

नेपालका तेल उद्योगहरुलाई कच्चा पाम, भटमास र सुर्यमुखी तेल आयात गर्दा १० प्रतिशत भन्सार र १३ प्रतिशत मुल्य अभिवृद्धि कर लाग्दै आएको छ भने निर्यात प्रयोजनका लागि बैंक ग्यारेण्टी र पासबुकमा भन्सार छुट पाउँदै आएका छन् ।

गत साउन महिनामा विराटनगर भन्सार कार्यालय भएर ८० करोड १० लाख मूल्य बराबरको ६० लाख ४३ हजार लिटर पाम आयल आयात भएकोमा ८२ करोड रुपैयाँ बराबरको ४३ लाख २३ हजार लिटर पाम आयल भारत तर्फ निर्यात भएको थियो ।

यसैगरी २ अरब ७४ करोड ६२ लाख रुपैया बराबरको १ करोड ७१ लाख ४० हजार लिटर भटमासको तेल आयात भएकोमा २ अरब ८३ करोड ३८ लाख मूल्य बराबरको १ करोड ३० लाख ७५ हजार लिटर भटमासको तेल निर्यात भएको छ ।तारा आचार्य न्युज २४

 

प्रकाशित मिति २०७८ कार्तिक २ गते मङ्गलबार १०:४२
प्रतिक्रियाहरु