काठमाडौं -: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादका कारण होल्डमा रहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी पुनः थालिएको छ ।
यसअघि डिसेम्बरको दोस्रो हप्ता भ्रमण गर्ने गरी गृहकार्य भएको थियो तर नेकपाभित्रको विवादका कारण सो भ्रमण हुन सकेन । त्यसपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात् संसद भंग गरेपछि सो मितिमा भ्रमण हुन सकेन ।
अब जनवरीका दोस्रो साता भ्रमण गर्नेगरी दुवै पक्षले तयारी अगाडि बढाएका छन् । तर आगामी हप्ताबाट सर्वाेच्च अदालतमा संसद् विघटनको बारेमा छलफल हुने भएकाले तत्कालै मिति भने घोषणा नगरिने जनाइएको छ । संयुक्त आयोगको वैठकमा भाग लिनका लागि आफू दिल्ली जान लागेको ज्ञवालीले बताएका छछन् । उनको भ्रमण त्यतिमा मात्र सीमित नहुने विश्लेषण हुन थालेको छ ।
भारतले छिट्टै प्रधानमन्त्री ओलीको भ्रमण गराउन चाहिरहेको र परारष्ट्रमन्त्री ज्ञवाली त्यसैको तयारीका लागि भारत जान लागेको स्रोतको दाबी छ ।स्रोतका अनुसार प्रधानमन्त्री ओली र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भारतले दिल्लीमा भेटवार्ता गराउँदैछ । ओलीको भ्रमणको मौका पारेर ज्ञानेन्द्र सुटुक्क दिल्ली जाने र त्यहाँ राजतन्त्र पुर्नस्थापनाका लागि वार्ता हुने बताइएको छ ।
सबभन्दा पहिले पूर्वराजा ज्ञानेन्द्र जाडो छल्न भनेर झापा कार्यक्रम छ । त्यसपछि उनी सुदूरपश्चिम हुँदै दिल्ली प्रश्थान गर्नेछन् ।
प्रधानमन्त्री ओली गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरुद्धमा रहेको र त्यसैका लागि संसद् विघटन गरिएको दाबी राजावादीहरुले गरिहेका छन् ।
वरिष्ठ पत्रकार पी खरेलको पनि यसमा सहमति छ । उनका अनुसार पूर्वराजा ज्ञानेन्द्रले यसअघि नै भारत, चीन, अमेरिका र युरोपियन युनियनका प्रतिनिधिहरुसँग टुट्टाछुट्टै भेट गरिसकेका छन् । अब ओलीलाई भेट्न बाँकी रहेको र उनलाई भेटेपछि नेपालमा केही नयाँ खिचडी पाक्नसक्ने उनको दाबी छ ।
पछिल्लो समयमा नेपालमा चीनको प्रभाव बढेकोप्रति भारतलाई त्यो चित्त नबुझेको र ओलीलाई प्रयोग गरेर संसद् विघटन गरिएको स्वयम् भारतका विज्ञहरु बताइरहेका छन् ।
बरु राजतन्त्र हुँदै नेपालमा चीनको प्रभाव कम रहेको भारतीय संस्थापन पक्षको बुझाइ देखिन्छ । त्यसैले उनीहरुले पछिल्लो समयमा राजसंस्था र हिन्दूराष्ट्रको कार्ड फालेको बताइन्छ ।नेपालमा संसद् विघटन हुनु र नेकपा दुई चिरा हुनुलाई भारतीय पक्षले आफ्नो जितको रुपमा हेरेको छ ।
प्रकाशित मिति २०७७ पुस १७ गते शुक्रबार ०२:०९