सर्वोच्च परिसरमा प्रधानन्यायाधीशका विरोधी र समर्थकबीच झडप

सर्वोच्च परिसरमा प्रधानन्यायाधीशका विरोधी र समर्थकबीच झडप

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक २८ गते आईतबार १२:५१

काठमाडौँ -: केही सातादेखि आन्दोलन, धर्ना र विरोधले अस्तव्यस्त रहेको सर्वोच्च अदालतमा आज पनि विरोध प्रदर्शन जारी छ । आज पनि अदालतको मुख्य गेटभित्रबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विरोधमा कानुन व्यवसायीहरुले धर्ना दिइरहेका...

काठमाडौँ -: केही सातादेखि आन्दोलन, धर्ना र विरोधले अस्तव्यस्त रहेको सर्वोच्च अदालतमा आज पनि विरोध प्रदर्शन जारी छ । आज पनि अदालतको मुख्य गेटभित्रबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विरोधमा कानुन व्यवसायीहरुले धर्ना दिइरहेका छन् भने गेटको बाहिर सडकमा प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन भएपछि दुवै पक्षबीच झडपको स्थिति निम्तिएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेको नेपाल बार एसोसिएसन र सो नेतृत्वका कानुन व्यवसायीले बिहीबार मूल गेटमा धर्ना सुरु गरेका हुन् । प्रधानन्यायाधीशलाई रोक्न भन्दै धर्नामा बसे पनि प्रन्या जबरा भने अर्कै गेटबाट आज पनि कार्यकक्षमा प्रवेश गरिसकेका छन् ।

आज आइतबार अदालत बाहिर राष्ट्रिय झन्डा बोकेका र मोटरसाइकलमा आएका केही युवाहरुकाे समूहले भने प्रन्या जबराको पक्षमा नाराबाजी गरेका छन् ।

उनीहरुले इजलास छाडेर आन्दोलनामा रहेका सर्वोच्चकै न्यायाधीशहरु र धर्नामा रहेका वकिलहरुको विरुद्धमा प्रदर्शन गरेका हुन् । न्यायमा अवरोध गर्न पाइँदैन भन्दै उनीहरुले वकिलहरू विरुद्ध नाराबाजी गरेपछि धर्नामा रहेका वकिलहरूले पनि चोलेन्द्रका मतियार, होसियार भन्दै नाराबाजी गरेका छन् ।

दुवै पक्षको प्रदर्शन चर्किँदै गएपछि प्रशासनले बाक्लै सुरक्षाकर्मी खटाएको छ । अदालतबाहिर प्रदर्शन गर्ने समूहलाई भने प्रहरीले केहीबेरमै लखेटेको छ तर वकिलहरुको धर्ना भने जारी छ । सम्भावित झडप हुन नदिन प्रहरीले प्रदर्शनकारीलाइ हटाएकाे हाे ।

प्रकाशित मिति २०७८ कार्तिक २८ गते आईतबार १२:५१
प्रतिक्रियाहरु