१४ मंसिर, चितवन -: नेकपा एमालेको महासचिवमा निर्विरोधि निर्वाचित भएका नेता शंकर पोखरेलले भीम रावल र उनी पक्षधर उम्मेदवारलाई भोट नदिनू भन्दै महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको पर्चा अनौठो नभएको बताएका छन् । उनले त्यो पार्टीको औपचारिक प्रस्ताव अनुसारकै भएकोसमेत बताएका छन् ।
महाधिवेशन स्थलमा मंगलबार पत्रकारहरुसँगको कुराकानीमा पोखरेलले भने, ‘त्यो त पार्टीको औपचारिक प्रस्ताव हो । त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले प्रचार गर्ने कमरेडहरूले पनि आफ्नो पक्षमा प्रचार गर्नु भएकै छ । अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषित नै छ । कुनै अनौठो कुरा होइन
उनले नेतृत्व चुन्न भइरहेको मतदानलाई रस्साकस्सीको प्रक्रिया नभएकोसमेत बताए ।चितवनमा जारी नेकपा एमालेको १०आं महाधिवशेनमा पक्षले बाँडेको ‘मत नहाल्ने’ सूचीप्रति भीम रावलले निन्दा व्यक्त गरेका छन् ।
चितवनको सौराहस्थित होटल सेभेन स्टारमा मतदान भइरँदा केपी ओली पक्षले कसलाई भेट हाल्ने र कसलाई नहाल्ने भनेर सूची तयार गरेर वितरण गरेको थियो ।
उक्त सूचीप्रति रावलले आपत्ति जनाएका हुन् । उक्त कामले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर बनाउने रावलको भनाइ छ । उनले पर्चा बाँड्ने काम रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको बताएका छन्। रावल अध्यक्षका उम्मेदवार हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘चितवनमा एमालेको मतदान सुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचारसंहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु, उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ, यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।
यसअघि एमालेको विधानअनुसार प्यानल बनाएर लड्न नपाइने भनिए पनि संस्थापन पक्षले प्यानलसहितको सूची मतदातालाई बाँड्दै अध्यक्षमा उम्मेदवारी दिएका रावलसहित ११ जनालाई मत नदिन पर्चा बाँडिएको छ ।
बाँडिएको पर्चामा पदाधिकारीका उम्मेदवार रावल, घनश्याम भुसाल, टंक कार्की, भीम आचार्य लगायत केन्द्रीय कमिटी सदस्यका उम्मेदवार भएकाहरुको नाम तोकेर मत नहाल्न भनिएको छ ।
प्रकाशित मिति २०७८ मङ्सिर १४ गते मङ्गलबार १०:०८