पराजित कमल थापाले भने- ‘पुरस्कार पाएँ, राजाको भलो होस्’

पराजित कमल थापाले भने- ‘पुरस्कार पाएँ, राजाको भलो होस्’

छाँयापाटी

@छाँयापाटी

२०७८ मङ्सिर १९ गते आईतबार ०८:२०

काठमाडौं -: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएको कमल थापाले विजयी राजेन्द्र लिङ्देनलाई बधाइ दिनु भएको छ । थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो । पराजित भएपछि थापाले...

काठमाडौं -: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएको कमल थापाले विजयी राजेन्द्र लिङ्देनलाई बधाइ दिनु भएको छ । थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउनुभएको छ । यद्यपि, उहाँले पराजयलाई सहर्ष स्वीकार गर्ने बताउनुभएको छ ।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना’, उहाँले भन्नुभएको छ, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’

थापाले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गनुभएको छ । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि उहाँको आरोप छ ।

उहाँले लेख्नुभएको छ– ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । उहाँले कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार लिङ्देन १८४४ मत ल्याउनु भयो भने पराजित थापाले १६१७ मत ल्याउनु भएको छ । ४३१ मत बदर भएको बस्नेतको भनाइ छ । राप्रपा अध्यक्षका लागि कूल ३ हजार ८७३ मत खसेको थियो ।

मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो ।

 

प्रकाशित मिति २०७८ मङ्सिर १९ गते आईतबार ०८:२०
प्रतिक्रियाहरु