यस्तै रवैया हो भने ४५ लाख लगानीकर्ताको समर्थन राजेन्द्र लिङदेनलाई हुन्छः लगानीकर्ता

यस्तै रवैया हो भने ४५ लाख लगानीकर्ताको समर्थन राजेन्द्र लिङदेनलाई हुन्छः लगानीकर्ता

छाँयापाटी

@छाँयापाटी

२०७८ पुस १ गते बिहिबार १२:४३

काठमाडौं -:  सरकार र ठूला दलका नेताको शेयर बजारप्रतिको दृष्टिकोण स्पष्ट नहुँदा लाखौं लगानीकर्ता रुष्ट हुन थालेका छन् । उनीहरुले ठूला दल र ठूला नेताको रवैया ठिक नभएको भन्दै ४५ लाख लगानीकर्ताले हालका लोकप्रिय नेता राजेन्द्र लिङदेनलाई...

काठमाडौं -:  सरकार र ठूला दलका नेताको शेयर बजारप्रतिको दृष्टिकोण स्पष्ट नहुँदा लाखौं लगानीकर्ता रुष्ट हुन थालेका छन् । उनीहरुले ठूला दल र ठूला नेताको रवैया ठिक नभएको भन्दै ४५ लाख लगानीकर्ताले हालका लोकप्रिय नेता राजेन्द्र लिङदेनलाई समर्थन गर्ने चेतावनी दिन लागेका छन् ।

शेयर बजारमा भारी गिरावट जारी रहेको बेला आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने लगानी पुँजी बजारमा हुनु साम्राराज्यवादको विकसित रुप भएको बताएपछि आम लगानीकर्ता बढी रुष्ट भएका हुन् ।

पछिल्लो समयमा आम जनतामा लिङदेन निकै लोकप्रिय नेताको रुपमा देखा परेका छन् । लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पाटी उदार अर्थनीतिमा विश्वास गर्छ । प्रचण्डको शेयर बजारसम्वन्धी विवादित अभिव्यक्तिपछि लगानीकर्ताले ‘नो भोट’ अभियान पनि सञ्चालन गरिरहेका छन् ।

अर्थ मन्त्रालय सम्हाल्दै आएको पार्टीको पुँजी बजारप्रतिको दृष्टिकोण नकारात्मक हुँदा र अन्य ठूला दल नेकपा एमाले र नेपाली काँग्रेस पनि शेयर बजारमा अवस्थाप्रति मुकदर्शक हुँदा लगानीकर्तामा निराशा बढेको हो ।

सामाजिक सञ्जालमा लगानीकर्ताहरुले पुँजी बजारमा जनताले गरेको लगानीको संरक्षण गर्नुपर्ने दायित्व सरकारको भए पनि सरकारमै रहेका दल र नेताहरुले नकारात्मक टिप्पणी गर्दै हिंडदा विशेषगरी साना र नयाँ लगानीकर्ता हतोत्साहित हुन पुगेका छन् ।

शेयर इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले सरकार र ठूला दलका नेताप्रति लगानीकर्ताको विश्वास टुट्दै जाँदा लगानीकर्ताले लिङदेनको खोजी गरेको देखिन्छ भन्दै तर आफू जिम्मेवार संस्थाको नेतृत्वमा रहेकाले लिङदेनलाई समर्थन गर्ने कुरा छलफल नगरी नबोल्ने बताए ।

उनले शेयर बजार समग्र अर्थतन्त्रको सुचक भएको र लगानीकर्ताले गरेकै लगानीका आधारमा उद्योगधन्दाको विकास हुने कुरालाई ठूला दलका नेताले बुझ्न नसकेको बताए । ढकालले सकारात्मक भूमिका खेल्न नसके पनि नकारात्मक टिप्पणी गर्दै हिंड्नु नेताहरुको गैरजिम्मेवार शैली भएको बताए ।

फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले सरकार र दलहरुप्रति लगानीकर्ताको विश्वास घट्दै गएको र आक्रोस बढ्दै गएको बताउँदै यद्यपि आफूहरु सकेसम्म वार्तावाटै समस्याको समाधान गर्ने, उनीहरुलाई शेयर बजारबारे बुझाउने पक्षमा रहेको बताए ।

प्रकाशित मिति २०७८ पुस १ गते बिहिबार १२:४३
प्रतिक्रियाहरु