२४ पुस, पोखरा -: पृथ्वी नारायण शाहले राज्य विस्तार गर्दा काठमाडौं उपत्यकामा राजकाज चलाइरहेका मल्लहरु विस्थापित भए । विस्थापित हुनेमा भक्तपुरका मल्लहरु पनि थिए । नयाँ थातथलो खोज्दै भौतारिने क्रममा एक भाइ तनहुँको थर्पुमा पुगेर अडिए । हेर्दा भक्तपुर जस्तै देखिने समथर थर्पुमा बसोबास गरेका मल्ल खानदानका सन्तान हुन् चेतमान मल्ल ।
सुरुमा खेतीपाती र पछि व्यापार गरेका चेतमान मल्लको घरमा भान्से थिए, रामप्रसाद बतास । भान्छाको काम गर्दागर्दै रामप्रसादको चेतमानकी छोरी सेतीमायासित प्रेमसम्बन्ध झाँगियो । चेतमान छोरीको प्रेममा बाधक बनेनन्, बरु भान्से रामप्रसादसँगै विवाह गरिदिए ।
बिहेपछि रामप्रसादले ससुरालीमा ज्वाईंले पाउने मानसम्मान मात्रै होइन, बराबरीको हिस्सेदारी पनि पाए । चेतमानका जेठा छोरा बाबुलाल र रामप्रसादबीच व्यापारिक साझेदारी भयो । उनीहरुले चलाएको कपडा पसलको नामै ‘बाबुलाल–रामप्रसाद फर्म’ रह्यो ।
तनहुँको थर्पुमा सुरु भएको त्यो साझेदारी बेलचौतारा, दोभान हुँदै खैरेनीटार र दुलेगौंडासम्म विस्तार भयो । त्यतिखेरसम्म बाबुलालका छोरा शिवलाल मल्ल र रामप्रसादका छोरा आनन्द बतासले पनि व्यापारमा सघाउन थालिसकेका थिए । तर २०४० सालमा साझेदारी टुट्यो ।
दुलेगौंडा र खैरेनीटारका दुई पसल मामा र फुपूका छोराहरुले बाँडे । आआफ्नो हिसाबले विस्तार गरे । शिवलालले मल्ल इम्पोरियम चलाउन थाले, आनन्दले आफ्नै कपडा पसल । आनन्दले होटल पनि खोले, जहाँ राजनीतिक खेलकुद गर्न सहज भयो ।
शैलजाको चिठ्ठी र बतास ब्रदर्श
व्यापारको साझेदारी टुटेपनि दाजुभाइको सम्बन्धको माधुर्य रोकिएको थिएन । यिनीहरु आआफ्नो लयमा ठीकठाक थिए । शिवलाल व्यापार सँगसँगै विद्यार्थी राजनीतिमा पनि सक्रिय । सम्भवतः यही कारण उनको नेपाली कांग्रेस नेता शैलजा आचार्यसित राम्रो सम्बन्ध थियो । शैलजा पोखरा आएका बेला शिवलाललाई भेटेर मात्रै काठमाडौं फर्किने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
शिवलालको घरमा शैलजाको आउजाउ आनन्द बतासका दाजुभाइलाई थाहा नहुने कुरै भएन । त्यसैले आनन्दले आफ्ना माइला भाइ शान्तराज बतासलाई अटोमोबाइल्स इन्जिनियरिङ पढाउनका लागि भनसुन गरिदिन शिवलाललाई आग्रह गरे । नभन्दै शैलजाले भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरलाई चिठी नै लेखिदिइन् । यो २०४७ सालको अन्त्यतिरको कुरा हो ।
मुलुकमा भर्खरै बहुदल आएर शैलजाहरु खुल्ला राजनीतिमा थिए भने मुलुक संसदीय चुनावको तयारीमा थियो । त्यसैले नेपालका राजनीतिक दल र नेताहरुको दबदबा भारतसम्म हुन्थ्यो, उनीहरुको कुरा भारतीयहरुले पनि सुन्थे । फलस्वरुप शैलजाले लेखेको चिठीले काम गर्यो, शान्तराज छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न भारतको नागपुर गए ।
उनी पढाइ सकेर फर्किँदा विनोद चौधरी मारुती गाडीको डिलर छोड्न खोजेको थाहा पाएपछि आनन्दले भाइ शान्तराजका लागि भनेर लिए । उनीहरुले बतास ब्रदर्शको नाममा अटो क्षेत्रमा हात हाले । अटोमोबाइल्सको व्यापारले आर्थिक अवस्था राम्रै बनायो । कपडा पसलबाट होटल हुँदै बतासको व्यापार अटोमोबाइल्ससम्म फैलियो । संगैसंगै फैलिन थाल्यो महत्वाकांक्षा पनि ।
आनन्दले आफ्ना महत्वाकांक्षा पूरा गर्ने माध्यम राजनीतिक दलका नेताहरुलाई नै बनाए । चिन्नेहरु ०५६/५७ सालसम्म पोखराको राजनीतिक वृत्तमा बतासको खासै ठूलो उपस्थिति नभएको बताउँछन् । तर अहिले बतास सबभन्दा निकट प्रधानमन्त्री शेरबहादुर देउवासँग छन् भने अरु दलका शीर्ष नेताहरुसँग पनि सम्बन्ध बनाएका छन्, त्यसको माध्यम थियो होटेल आनन्द ।
देउवासँग सम्बन्ध जोड्ने यो कडी
बतासले होटल व्यवसाय सुरु गर्दा पोखरा सभागृह वरिपरि राम्रा होटल थिएनन्, नेताहरु भाषण गरेपछि उनकै होटलमा बस्न जान्थे । आनन्द पनि सबै चाँजोपाँजो मिलाइदिन्थे । नेताहरुलाई आफ्नो पक्षमा पार्न र काम लिन सिपालु उनलाई संगत गरेका पोखरेलीहरु चतुरभन्दा ‘धुर्त’ खेलाडी मान्छन् ।
अहिले त यो होटल अस्तित्वमा छैन । बरु पशुपतिनाथ दर्शन गर्न आउने तीर्थालुहरुका निम्ति भारतले बनाइदिएको धर्मशालालाई बतासले होटल आनन्द बनाएका छन् । तर जानकारहरुका अनुसार कुनै त्यस्ता शीर्ष नेता र मुलुकका कार्यकारी छैनन्, जो पोखरा आएका बेला उनको होटलमा नपुगेका होउन् ।
०५७ मा पोखरामा नेपाली कांग्रेसको दशौं महाधिवेशन थियो । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग शेरबहादुर देउवाले सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।
त्यसबेला देउवा बतासकै होटल आनन्दमा बास बसेका थिए । त्यतिखेरै बनेको सम्बन्ध देउवा पत्नी आरजु राणामार्फत अहिले झनै मजबुत मात्र भएको छैन, कांग्रेसभित्र बलियो शक्तिका रुपमा स्थापित छ ।
०७४ को प्रतिनिधिसभा चुनावभन्दा केही समयअघि तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा पोखरा आइपुगे । चुनावको रापताप र टिकटको रस्साकस्सी चलिरहेका बेला पाँचतारे होटल पोखरा ग्रान्डमा बसेका देउवालाई भेट्न कास्कीका पुराना कांग्रेसी नेताहरु लाइन लागे ।
त्यही लाइनमा थिए नेताहरु शुक्रराज शर्मा, खेमराज पौडेल, सोभियतबहादुर अधिकारीहरु । उनीहरुले आफ्नो पालो आउँदा पनि देउवालाई सीधै भेट्न चाहिँ पाउँदैनथे ।
एउटा ‘आइरन गेट’ पार गर्नुपर्थ्यो, र ‘आइरन गेट’ थिए यिनै आनन्द बतास । ‘देउवालाई जस्तोसुकै अप्ठ्यारोमा पनि सहयोग गरेका पार्टीका पुराना नेता कार्यकर्ताले उनलाई भेट्न आनन्दको अनुमति लिनुपर्ने भयो,’ कास्की कांग्रेसका एक पुराना नेताले भने, ‘हामीले यस्तो व्यवहार धेरैपटक भोगेका छौं ।’
कतिसम्म भने ०७४ को राष्ट्रियसभा चुनावका बेला कांग्रेससित नजिक रहेका, तर सामाजिक काममा सक्रिय पाका केही पोखरेलीलाई आनन्द बतासको मोबाइलबाट म्यासेज पुगेको थियो–६० लाख दिए राष्ट्रियसभा सदस्य बनाइदिन्छु ।
एमाले र माओवादीसँग पनि उस्तै सम्बन्ध
देउवासँगको निकटताका कारण कांग्रेसभित्र जसरी शक्ति केन्द्र बनिरहेका थिए, व्यापारमा पनि बतास ब्रदर्श घरानाका रुपमा स्थापित हुँदै गइरहेको थियो । उनको बढ्दो महत्वाकांक्षा केबल कांग्रेससँगको निकटताले पूर्ति हुनेवाला थिएन, त्यसैले अन्य पार्टीका नेताहरुसित पनि हिमचिम बढाउन थाले ।
‘व्यापारलाई राजनीति चाहिन्छ र नेतालाई पैसा । यो आनन्दजीले राम्रैसँग बुझ्नुभएको थियो,’ कांग्रेसका एक नेताले भने, ‘त्यही भएर सबै दलका नेताहरुसित सम्बन्ध बढाउनुभयो । ०७४ को चुनावमा कांग्रेसका उम्मेदवार शोभियत अधिकारीलाई एउटा गाडी र ५ लाख, एमाले उम्मेदवार रवीन्द्र अधिकारीलाई पाँचवटा गाडी र ४० लाख चन्दा दिनुभयो ।’
स्वर्गीय रवीन्द्र अधिकारीसित पृथ्वीनारायण क्याम्पसमा पढ्दादेखिकै घनिष्ट सम्बन्ध रहेको बतास स्वयं बताउँछन् । केही जलविद्युत आयोजनामा रवीन्द्रसँगै लगानी गरेका बतासले अधिकारीलाई आर्थिक सहयोग गरेको सार्वजनिक रुपमै भनेका छन् । अधिकारीसँगको सम्बन्धलाई थप शक्ति आर्जनको माध्यम र व्यापार विस्तारको बाटो बनाए । नेकपा एमाले अध्यक्ष केपी ओलीम्म पुगे । एमाले अध्यक्ष ओलीसित नजिक हुने उनको अर्काे साइनो थियो झापा । झापा भद्रपुरका उनका ससुराली एमालेको ओलीका कट्टर सर्मथक हुन् । प्राइम टाइम्स टेलिभिजनको ‘स्टिङ अपरेसन’सँग बतासले बताएअनुसार एमाले अध्यक्ष ओलीले उनलाई ज्वाईं भनेर सम्बोधन गर्छन् ।
उनले मुलुकको अर्को शक्ति नेकपा माओवादी केन्द्रलाई पनि प्रभावमा पारेका थिए । माओवादी नेता तथा पूर्वसांसद राजकाजी गुरुङ हुँदै शीर्ष नेताहरुसम्मै बतासको घनिष्ठ सम्बन्ध छ । सत्ता र प्रतिपक्षकै शीर्ष नेताहरुको साथ पाएका बतास सरकारी तथा सार्वजनिक सम्पत्ति हात पार्न सफल भएका छन् र दलहरु मौन छन् ।
बतास समूहले २०६७ सालमा पोखरा संग्रहालयको जग्गा र भवन भाडामा लगाउन १० वर्षको ठेक्का पारेको थियो । त्यहाँ गाडीको सोरुम र व्यापार गरिरहेको बतास समूहले २५ वर्ष म्याद थप गर्न दबाव दिइरहेको छ । कृषि सामग्री कम्पनी लिमिडेटको पृथ्वीचोक र तनहुँ सदरमुकाम दमौली चोकको जग्गा कौडीको भाउमा ठेक्का पाएको थियो ।
२०६९ सालमा ५ वर्षका लागि ठेक्का लिएको बतासले फेरि थप ५ वर्ष म्याद थपेर २०७९ सम्म पुर्याएको छ । सस्तोमा जग्गा लिएर महंगो भाडा असुलिरहेको बतासले गतवर्षदेखि भाडावापत बुझाउनुपर्ने ७३ लाख ७८ हजार रुपैयाँ भने अहिलेसम्म बुझाएको छैन ।
बतास समूहले ०७० माघमा २५ वर्षका लागि पोखरा सभागृह पनि हात पारेको थियो । सभागृहको निर्माणदेखि सञ्चालनसम्मका सम्पूर्ण जिम्मा दिएपछि विभिन्न पार्टी र नागरिक अगुवाको विरोधले योजना विफल भएको थियो ।
पशुपतिनाथ दर्शन गर्न आउने तिर्थालुहरु बस्न भारतले बनाइदिएको धर्मशालालाई आनन्द होटलका रुपमा सञ्चालन गर्न ०७६ वैशाखमा ठेक्कामा लिएका बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा पनि रेस्टुरेन्ट खोल्ने ठेक्का सस्तोमा हात पार्न सफल भयो ।
तर व्यापार विस्तार गर्न १४ वर्षअघि पोखराबाट काठमाडौं गएका बतासले नारायणहिटी दरबार संग्रहालय पनि बाँकी नराखेपछि उनको राजनीतिक कनेक्सन उघ्रिन थालेको हो ।
प्रकाशित मिति २०७८ पुस २४ गते शनिवार ०५:१८