मिथिला क्षेत्रमा आज महाशिवरात्रि पर्वका अवसरमा माङ्गलिक उत्सवका बीच ‘जलधारी’ मनाइँदै छ । पर्वका दिन मध्यरातयता शिवालयमा भक्तजन ‘जयशम्भो’ को करतल ध्वनिबीच शिवलिङ्गमा पवित्र जल, गाईको दूध, जौँ, बेलपत्र र धतुरो चढाएर ‘जलधारी’ गर्दैछन् ।’ भगवान् शिवलाई पवित्र जल र दूधको धाराले स्नान गराउने परम्परालाई मिथिलामा ‘जलधारी’ भन्ने गरिएको हो । त्यस्तै जौँ, बेलपत्र र धतुरो भगवान् शिवका अतिप्रिय वस्तु रहेका विश्वासमा अर्पण गर्ने हिन्दू मैथिल परम्परा छ ।
पर्वका अवसरमा महोत्तरीको अति प्राचीन जलेश्वर–१ स्थित श्री जलेश्वरनाथ महादेव मन्दिरमा मध्यरातयता दर्शनार्थी भक्तजनको अपार भीड देखिँदो छ । बितेका पछिल्ला दुई वर्ष कोरोना महाव्याधिको जगजगीले महाशिवरात्रि पर्व पनि प्रभावित भएको थियो’ । तेस्रो वर्ष पर्व मनाइरहँदा आम श्रद्धालुले महाव्याधि कष्ट निवारण गर्न भगवान् शिवको पुकारा गरेका सुनिन्छ ।
श्री जलेश्वरनाथ अनादिकालमा भगवान शिव आफैँले प्रतिस्थापित गर्नुभएको महालिङ्ग भएको शिव पुराणमा वर्णन छ’ । त्यसैगरी जिल्लाकै बर्दिवास–५ स्थित चुरे पर्वत काछको श्री टुटेश्वरनाथ मन्दिरमा हजारौँ श्रद्धालु मन्दिर परिसरमा ‘जयशम्भो’ भन्दै जलधारा गर्न आफ्नो पालो पर्खेर पङ्क्तिबद्ध छन् । ‘पूर्वपश्चिम राजमार्गको टुटेश्वरचोकबाट आठ किलोमीटर सघन वनक्षेत्र पैदलयात्रा गरेपछि पुगिने चुरे पहाडी शृङ्खलाअवस्थित टुटेश्वरनाथ मन्दिरमा वर्षेनी लाखौँ दर्शनार्थी धार्मिक प्रयोजनले पुग्ने गरेका बर्दिवास–५ का वडाध्यक्ष दलबहादुर थापामगर बताउनुहुन्छ ।
यस्तै भङ्गाहा–५ सिद्धपुरस्थित श्री सिद्धनाथ, सोनमा गाउँपालिकाको मगरथानास्थित श्री मङ्गलनाथ र जिल्लाका २० भन्दा बढी शिवालयमा ‘जलधारी’ गर्नेहरूको घुइँचो छ ‘। महाशिवरात्रि पर्वसँगै जोडिएर मिथिलामा मिथिला माध्यमिकी परिक्रमा र लगत्तै सँगसँगै फागु (होली) पर्व मनाइने परम्परा हुँदा महाशिवरात्रिलाई धार्मिक र सांस्कृतिक उत्सवको प्रारम्भका रूपमा लिने गरिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस)का साहित्य विषयका सहप्राध्यापक ध्रुव रायको भनाइ छ ।
पर्वका अवसरमा श्रद्धालुले चढाउने पूजा सामग्रीको महाशिवरात्रि मेलामा राम्रो व्यापार चलेको छ ‘। फूल, बेलपत्र, जौँ र धतुराको फूल र फल बेचेर नै आज सामान्य गरिबले मनग्गे आम्दानी गरेका छन् । त्यसैगरी भाकलमा भाण्टाको भार चढाउने मैथिल परम्परा छ । यो भाकलसँग जोडेर पर्वमा भाण्टाको भारको बिक्री पनि निकै देखिन्छ । ‘मिथिलामा महाशिवरात्रिका दिन शिवलिङ्गमा ‘जलधारी’ गरेर उपवास बस्ने परम्परा छ । महाशिवरात्रिको उपवासले इच्छित फल प्राप्त हुने र मृत्युपछि कैलाशवास हुने विश्वास गरिन्छ ‘।
महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ। महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो।
प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन हो। बिहीबार दिउँसो २:५२ बजेसम्म त्रयोदशी तिथि छ। त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ।’ चतुर्दशी तिथि शुक्रबार दिउँसो २:५१ बजेसम्म छ। मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ’।
महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। ‘कोरोना भाइरसको जोखिम कायमै रहेकाले पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ’।
कोरोना जोखिमका कारण महाशिवरात्रिका अवसरमा पशुपति आउने साधुसन्त विगतमा भन्दा आधा नै घटेको कोषले जनाएको छ।
प्रकाशित मिति २०७८ फाल्गुण १७ गते मङ्गलबार ०८:४७