एमसीसीविरुद्ध विभिन्न ६ वामपार्टी र दुई मोर्चाका साथ संघर्षमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजनीतिक सक्रियता बढाएका छन् ।
गत आइतबार प्रतिनिधि सभाले अमेरिको सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई व्याख्यात्मक घोषणासहित पारित गरेपछि विप्लवले सक्रियता बढाएका हुन् । जनस्तरमा व्यापक चासो रहेको र विरोध भइरहेको एमसीसीलाई संसदले अनुमोदन गरेसँगै विप्लव लगायतले विरोधी धारको नेतृत्व गरिरहेका छन् ।
एमसीसी राष्ट्रघाती रहेको भन्दै संसदमा टेबल गर्नुअघिबाटै आन्दोनमा उत्रिएको वाम पार्टीहरुको समूहले आन्दोलनलाई प्रभावकारी बनाउन पहल थालेको छ । सत्तारुढ दलहरुबीच लामो रस्साकस्सीका बीच गठबन्धन जोगाउने गरि व्याख्यात्मक घोषणाको साहरा लिइएको भए पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीमा असन्तुष्टि बढेको छ ।
माओवादी केन्द्रमा नेता नारायणकाजी श्रेष्ठ पक्षले र एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालले बिरोध गरिरहेका छन् । त्यस्तै एमसीसी पारित गर्ने समयमा बेल घेरेर बसेको नेकपा एमालेका नेता भीम रावल पनि एमसीसीको विपक्षमा उभिएका छन । यस्तोमा नेकपाका महासचिव विप्लवले आफ्नो सक्रियता बढाएका छन् ।
उनले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमसीसी सम्झौताको संसदमा चर्को बिरोध गर्दै आएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारयणमान विजुक्छेसँग भेटवार्ता र छलफल गरेका छन् ।
विप्लवले एमसीसी बिरोधी नेताहरुलाई आफूहरुको समूहले आयोजना गर्न लागेको एमसीसीविरुद्धको सभामा सहभागी गराउन पहल गरिरहेको जनाइएको छ । नेताहरुसँगको भेटमा विप्लवले राजनीतिक सहकार्यको प्रस्ताव गरिरहेका छन् ।
बुधबार महासचिव चन्दले नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरे । ललितपुरको हात्तिवनस्थित श्रेष्ठ निवासमा भएको दुई नेता बीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
एमसीसी सम्झौतालाई लिएर माओवादीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला विप्लव हात्तिवन पुग्नुलाई चासोको साथ हेरिएको छ । एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै लाइन रहेको छ । दुवै एमसीसीको विपक्षमा रहेका छन् ।
बुधबार नै महासचिव चन्दले नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पनि भेटवार्ता गरेका छन् । अध्यक्ष बिजुक्छेसँगको भेटवार्तामा एमसीसी सम्झौताकै विषयमा छलफल भएको बताइएको छ ।
बिजुक्छे भेट्न विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई लिएर भक्तपुर पुगेका थिए । भेटवार्तामा नेमकिपाका सांसद प्रेम सुवालसमेत सहभागी थिए । बिजुक्छे र विप्लवबीच नेपाली राजनीतिको पछिल्लो अवस्था र एमसीसी लगायतका विषयमा कुराकानी भएको विप्लव सचिवालयले जानकारी दिएको छ ।
विप्लव नेतृत्वको नेकपा र बिजुक्छे नेतृत्वको नेमकिपा दुवै एमसीसी खारेज गर्नुपर्ने पक्षमा छन् ।
नेमकिपाले संसदमै एमसीसीको विरोध गरेको थियो । यसअघि महासचिव चन्दले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेका थिए । खनालसँगको भेटवार्तामा पनि चन्दको एमसीसी सम्झौताका विषयमा छलफल भएको बताइएको छ । खनालले सुरुदेखि नै एमसीसीको विरोध गर्दै आएका थिए ।
विप्लव नेतृत्वको नेकपा लगायत ६ वामपन्थी दल लगायतका मोर्चा र संगठनहरुले एमसीसी सम्झौताको विरोध गर्दै आएका छन् । ती दलले एमसीसी सम्झौताको विरोधमा आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरिसकेका छन् ।
प्रकाशित मिति २०७८ फाल्गुण २० गते शुक्रबार १२:१९