गोरखा -:
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले र माओवादी केन्द्र एकता भई २०७५ मा गठन भएको नेकपाको निरन्तरता आफ्नो पार्टीले गरिरहेको बताएका छन् । केपी शर्मा ओली एमालेको अध्यक्ष भएर पार्टीलाई दुरुपयोग गरेको पनि बताए ।
गोरखामा शनिबार आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘मूलधारको पार्टी हाम्रो हो । मूलधारको पार्टी हुनाले अहिले हाम्रो पार्टीको महत्व जनताले बुझिसकेका छन् । हामीले विद्रोह गरेर निर्माण गरेको पार्टी नेकपाको निरन्तरता हो । नेकपा एमाले अब एमाले रहेन । ‘बी’माले, ‘सी’माले भन्नुस् । सूर्यमा ग्रहण लागिसकेको छ ।
एकीकृत समाजवादी पार्टी मूलधारको पार्टी भएको उनको दाबी थियो । एकीकृत समाजवादीको महत्व जनताले बुझिरहेको पनि नेपालको भनाइ थियो । पार्टी अहिले सुदूरपश्चिम र
एमाले छोडेर एकीकृत समाजवादीमा आउने नेता र कार्यकर्ताको ठूलो पंक्ति आइरहेको पनि नेपालको भनाइ थियो । उनले अबको चुनावले एकीकृत समाजवादी जनतामा स्थापित हुने र एमाले कमजोर बन्ने उनको दाबी थियो ।
कार्यकर्तालाई उच्च मनोबलका साथ प्रत्येक वडा र पालिकामा संगठन विस्तार गर्नका लागि नेपालले निर्देशन दिएका थिए । पार्टी खोल्नै सक्दैनन् भन्नेहरूलाई जवाफ दिइएको भन्दै उनले अब पार्टीलाई देशव्यापी बनाउनका लागि निस्वार्थ भावनाका साथ लाग्न आग्रह गरेका थिए ।
मधेस प्रदेशमा सबैभन्दा ठूलो रहेको र प्रदेश १ र बागमतीमा सरकारको नेतृत्वमा रहेको पनि उनले बताए ।
नयाँ पार्टी खोल्नै सक्दैन, केपी ओलीसँग टक्कर लिन सक्ने यो धरतीमा कोही छैन भन्ने थियो,’ उनले भने । उनले २०३२ सालको कोअर्डिनेसन केन्द्र, त्यसपछि माले र २०४७ सालमा एमाले जन्माउने आफू भएको बताए । २०७५ मा नेकपा भएको र
त्यसलाई पार्टीभित्र विवाद उत्पन्न भएपछि ओलीले प्रधानमन्त्री पदको दुरुपयोग गरेर विभाजन गरेको उनले आरोप लगाए । २०७५ जेठ २ गते जन्मेको नेकपा २०७७ फागुन २३ गतेको फैसलाबाट मिलिसकेको पार्टी पनि एकता हुँदैन भनेर केपी ओलीको षडयन्त्रको कारणले गर्दा फुट्यो,’ उनले भने ।
ओली २०७४ सालको चुनावमा माओवादी केन्द्रका अध्यक्षसँग मिलेर पहिलो दलको नेता बनेको नेपालको भनाइ थियो । ‘उनले प्रचण्डको काँधमा चढेर आफूलाई अग्लो देखाउन खोजे,’ उनले भने । ओलीको कार्यशैली गलत भएको र एमालेमा बस्न सक्ने अवस्था नरहेकाले विद्रोह गर्नुपरेको उनको भनाइ थियो ।
एमालेले जनताको बहुदलीय जनवादको मर्म नबुझेको र आत्मसाथ नगरेको पनि नेपालको भनाइ थियो । उनले भने, ‘एमालेले जबजको मर्मलाई आत्मसाथ गरेको छैन ।
जबजको आशय लोकतान्त्रीकरण हो, सहअसत्तित्व हो, सहकार्य र प्रतिस्पर्धा हो । मानसम्मान गर्ने, सुस्स्कार र सुसंस्कृति हो, जबज । ओलीमा गाली मात्रै छ । खिसिट्युरी बाहेक केही छैन । हामी जनतामा नयाँ चेतना जगाउँ, नयाँ संस्कार र संस्कृति हुर्काऔँ ।’
त्यस्तै, एमसीसी सम्झौतामा सैन्य गठबन्धनको कुरा जोड्ने काम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालाका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको नेपालको भनाइ थियो ।
एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र ओली मिलेर जस्ताको त्यस्तै पारित गर्न खोजेको तर एकीकृत समाजवादीको पहलमा ब्याख्यात्मक घोषणा भएको नेपालको भनाइ थियो ।
‘हिजो एमसीसी सम्झौतालाई अगाडि बढाउने काम ओलीले गरेका हुन् । शेरबहादुर देउवाको कांग्रेस र ओली आँखा चिम्लेर पास गर्ने थिए । हामीले ठीक छ साथ दिन्छौँ, बेठीक छ नसुधारेसम्म साथ दिँदैनौँ भनेका थियौँ,’ उनले भने, ‘एमसीसी सम्झौतामा अमेरिकाको सैन्य गठबन्धनको अंग बन्ने कुरा लेखिएको थियो, केपी ओलीका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भएको बेलामा ।
हामीले जोडदार रूपमा माग उठायौं, हुन्न नेपाल असंलग्न परराष्ट्र नीति भएको देश हो । कुनै पनि सैन्य गठबन्धनमा संलग्न हुन सक्दैन । हामी कसैको पनि सुरक्षा रणनीतिको अंग बन्न सक्दैनौं । हामीले त्यो भन्यौं । त्यसपछि अमेरिकाले त्यो स्वीकार गर्यो । एमसीसीले चिठी लेख्यो ।’
नेपालले आगामी दिनमा कुनै पनि कुराको आँखा चिम्लेर समर्थन र विरोध नगर्ने बताए । त्यो नीति लिएकै कारणले जनताले एकीकृत समाजवादीलाई विश्वास गरिरहेको धारणा राखे ।
प्रकाशित मिति २०७८ चैत ५ गते शनिवार ०३:४१