बर्सेनि २० वर्षभन्दा कम उमेरका ९ हजारले गराउँछन् गर्भपतन

बर्सेनि २० वर्षभन्दा कम उमेरका ९ हजारले गराउँछन् गर्भपतन

छाँयापाटी

@छाँयापाटी

२०७८ चैत ८ गते मङ्गलबार १०:२१

नेपालमा सुरक्षित गर्भपतन गराउनेमध्ये कम्तीमा १० प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको पाइएको छ । परिवार कल्याण महाशाखाका अनुसार आर्थिक वर्ष ०७७/७८ मा ७९ हजार ९५३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । अनिश्चित गर्भ रहेमा १२ हप्तासम्मको...

नेपालमा सुरक्षित गर्भपतन गराउनेमध्ये कम्तीमा १० प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको पाइएको छ । परिवार कल्याण महाशाखाका अनुसार आर्थिक वर्ष ०७७/७८ मा ७९ हजार ९५३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

अनिश्चित गर्भ रहेमा १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन पाइने प्रावधान छ । गएको तीन वर्षमा २० वर्षभन्दा कम उमेर समूहमा सुरक्षित गर्भपतन गराउनेहरुको आँकडा हेर्दा वार्षिक नौ हजार जनासम्मले गर्भपतन गराएको पाइएको छ ।

सुरक्षित गर्भपतन गराउने २० वर्षभन्दा कम उमेर समूहका सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् । यस्तै, सबैभन्दा कम सुरक्षित गर्भपतन गर्ने वृद्ध समूह गरेका छन् ।

२०७४/७५ मा सुरक्षित गर्भपतन गराउने २० वर्ष भन्दा कम उमेरका ९ हजार ८६४ जना थिए । यस्तै २०७५/७६ मा ८ हजार १६० जनाले गर्भपतन गराएकोमा ७ हजार ९०८ जनाले सुरक्षित गर्भपतन गराएका थिए । यस्तै उल्लेखित तीन वर्षमा २० वर्षभन्दा कम उमेरका युवतीले क्रमशः १० प्रतिशत, ९ प्रतिशत, ९ प्रतिशतले सुरक्षित गर्भपतन गराएको सरकारी आँकडाले देखाउँछ  ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको परिवार नियोजन तथा सुरक्षित गर्भपतन शाखाका प्रमुख नर्स सगुन थापाका अनुसार दैनिक १४ देखि १६ जनासम्मले सुरक्षित गर्भपतन गराउँछन् ।

जसमा २० वर्षभन्दा कम उमेरका दैनिक एक–दुई जना आइपुग्छन्  । महिनामा करिब ४ सय ८० जनाले सुरक्षित गर्भपतनको सेवा लिन्छन् भने तीमध्ये २० वर्षभन्दा कम उमेर समूहका १५ देखि १८ जनामा सुरक्षित गर्भपतनका लागि अस्पताल पुग्ने गर्छन् ।

प्रसूति गृहमा वार्षिक रुपमा सरदरमा २१६ जनाले  सुरक्षित गर्भपतन गराएको अस्पतालले जनाएको छ । प्रसूति अस्पतालका नर्स थापाका अनुसार २० वर्षभन्दा कम उमेर समूहका युवती सुरक्षित गर्भपतनका लागि न्यून सङ्ख्यामा आउने गरेका छन् । सुरक्षित गर्भपतन गराउन सरकारी स्वास्थ्य संस्थामा भन्दा निजी स्वास्थ्य संस्थामा २० वर्षभन्दा कम उमेरका पुग्ने गरेको परिवार कल्याण महाशाखाका एक अधिकारीको भनाइ छ ।

सुरक्षित गर्भपतन मेडिकल र सर्जिकल गरी दुई तरिकाबाट गरिन्छ । २० वर्षसम्ममा सुरक्षित गर्भपतन गराउने मध्ये करिब १० प्रतिशतले सर्जिकल गर्भपतन गराएको पाइएको छ । २०७६/७७ मा २० वर्षसम्मका १२ प्रतिशत अर्थात् ९ सय ४८ जनाले सर्जिकल गर्भपतन गराएका छन् । यस्तै,२०७५/७६ मा सर्जिकल गर्भपतन गराउनेको सङ्ख्या १ हजार २८ जना अर्थात् १३ प्रतिशत रहेको छ । २०७४/७५ मा सर्जिकल गर्भपतन गराउनेको सङ्ख्या ११ प्रतिशत अर्थात् १ हजार ८५ रहेको छ ।

नेपालमा कानुनत २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । तर, समुदायमा २० वारी मागी तथा भागी विवाह गर्ने चलन कायमै रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । विवाहित तथा अविवाहितले गर्भपतनलाई गर्भनिरोधकको साधनको रुपमा बुझ्न नहुने स्वास्थ्यकर्मीहरु बताउँछन् । किशोर किशोरीका लागि स्कुलको पाठ्यक्रममै महिनावारी, सुरक्षित र असुरक्षित यौनसम्पर्क, परिवार नियोजनका साधन के हो र गर्भपतन भनेको के हो भनेर  जानकारी जरुरी भएको महिला स्वास्थ्य र विकासमा काम गर्दै आएकी नर्स दुर्गा सापकोटाको भनाइ छ ।

नसै सापकोटा भन्छिन्, ‘अब, असुरक्षित यौनसम्पर्क बारेमा बुझाउँदा, गर्भनिरोधक साधनका विषयमा कुरा गर्दा वा अध्ययन गराउँदा शिक्षक शिक्षिका, घरका अभिभावकले किशोर अवस्थामा टेकेकालाई प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी गराउन पछि पर्न भएन ।

यस्तै, जनस्वास्थ्यविद् अरुणा उप्रेतीले युवा युवतीलाई गर्भनिरोधकका साधन, परिवार नियोजनका साधन महिला/ पुरुषका लागि केके भनेर जानकारी दिन अति आवश्यक रहेको ठान्छिन् । परिवार कल्याण महाशाखा अन्तर्गतको परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख कविता अर्यालका अनुसार अपरिपक्व उमेरमा गर्भवती हुँदा स्वास्थ्यका दृष्टिले धेरै त्रास हुन्छ । त्यसैले परिवार योजना तथा प्रजनन स्वास्थ्यका बारेमा सबै उमेर समूहलाई बुझाउन अत्यावश्यक भएको उनको भनाइ छ ।

केही क्षणका लागि सजिलो बाटो अपनाउन २० वर्ष कम उमेर समूहकाले सुरक्षित गर्भपतन गराए पनि भविष्यमा स्वास्थ्यका दृष्टिले समस्या आउन सक्ने डा. उप्रेतीको भनाइ छ । विवाह पूर्व वा विवाह पछाडि दुवै जनाले अनिच्छित गर्भ रहन नदिनका लागि गर्भनिरोधकका साधन प्रयोगमा पुरुष महिलाले सल्लाह गर्न अतिआवश्यक पर्ने उनको जिकिर छ ।

डा. उप्रेतीका अनुसार पहिलो पटक सुरक्षित गर्भपतन गराए पनि स्वास्थ्यमा असर गम्भीर खालका असर देखिन सक्छ । पहिलो पटक सुरक्षित गर्भपतन गराउनेले खासै रगत जाँच गराउँदैनन् । यदि रगत समूह नेगेटिभ भएको खण्डमा भविष्यमा गर्भमा बच्चा बस्ने सम्भावना न्यून हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

कतिले लिए सुरक्षित गर्भपतन सेवा ?

०७३/०७४ मा ९६ हजार ४१७ जनाले र ०७४/०७५ मा ९८ हजार ६४० जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । आर्थिक वर्ष ०७५/०७६ मा यो सेवा लिने सङ्ख्या घटेर ९० हजार ६७७ जना रह्यो । यस्तै, ०७६/०७७ मा ८७ हजार ८६९ जनाले मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् ।  Source ratopati

प्रकाशित मिति २०७८ चैत ८ गते मङ्गलबार १०:२१
प्रतिक्रियाहरु