काठमाडौं।
काठमाडौं महानागरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शाहले लौरो चुनाब चिन्ह पाएका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले आज बालेन सहित अन्य स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।
यतिबेला चर्चित ¥यापर बालेन शाह काठमाडौंको मेयरका लागि स्वतन्त्रबाट मैदानमा छन् । बालेनले मेयरका लागि ५ बर्ष अघि देखि नै तयारी गरिरहेको पारीवारिक स्रोतले बताएको छ । पहिलो संविधानसभाअघि बालेन संविधान निर्माणका लागि दबाबमूलक कार्यक्रम ’वी फर कन्स्टिच्युसन’ अभियानमा सहभागी हुन्थे। त्यसपछि उनी पढ्न भारत गए। बैंगलोरबाट स्ट्रक्चरल इञ्जिनियरिङमा विशेषज्ञता हासिल गरे। नेपाल फर्किएपछि बालेनले इञ्जिनियरिङको पेसागत काममा तीव्रता दिए। भूकम्पपछि पुनर्निर्माणको काममा उनी एउटा संस्थामार्फत् जोडिए।
पुनर्निर्माणको काममा संलग्न भएकै समयमा बालेनले एक फ्रान्सेली इञ्जिनियरसँग काम गर्ने मौका पाए। बालेनकी श्रीमती सविनाका अनुसार ती इञ्जिनियरले बालेनमा राम्रै छाप पारे। ’ती फ्रेन्च इञ्जिनियरले तिमीहरूको देश साँस्कृतिक रूपमा धनी छ तर पनि यो ठाउँ कसरी कंक्रिटको जंगल जस्तो भयो भनेर सोधेका रहेछन्। त्यो कुराले उहाँलाई निकै समातेको थियो,’ बालेनकी श्रीमती सविनाले भनिन्, ’उहाँ काठमाडौंमा आधुनिकता र सँस्कृतिलाई कसरी सँगै जोड्ने भनेर कुरा गरिरहनु हुन्थ्यो।’
रवीनका अनुसार बालेन नाकाबन्दीका बेलादेखि राजनीतिक गतिविधिमा संलग्न हुन थालेका हुन्। नाकाबन्दीताका फेसबकुको ’एमआरआर’ समूहले आयोजना गरेको सडकभोजमा उनी सहभागी भए। त्यस्तै अर्को समूह ’दारी ग्याङ’ ले गर्ने विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुन्थे।
बालेनले स्वतन्त्रबाट उठ्नुअघि पार्टीसँग पनि मेयरका लागि प्रस्ताव गरेको खुलेको छ । ¥याप र इञ्जिनियरिङ सँगै अघि बढाइरहेका बालेन राजनीतिमा भने सुरूमा विवेकशील पार्टीप्रति आकर्षित थिए। उनले विवेकशील पार्टीबाट राजनीति गर्ने चाहना पनि राखेका थिए। विवेकशील र साझा पार्टी एक भएर छुट्टिएका बेला उनी उक्त पार्टीको सम्पर्कमा पुगेका थिए। त्यो बेलै उनले आगामी चुनावमा विवेकशीलबाट मेयर उठ्ने चाहना राखेका थिए।
’बालेनजीले त्यति बेला मेयर उठ्न हाम्रो पार्टीको नेतालाई प्रस्ताव राख्नुभएको थियो,’ विवेकशील पार्टीका एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ’त्यो बेला उहाँ ¥यापरका रूपमा मात्र चिनिनु हुन्थ्यो। हामीले पहिला पार्टीको सदस्यता लिन सुझाएका थियौं।’ बालेनले विवेकशीलको सदस्यता लिएनन्। मेयरमा उठ्ने सपना पनि छाडेनन्। आफ्नै तरिकाले उनी त्यसको तयारीमा लागे।
’उहाँले साढे दुई वर्षअघि मेयर उठ्छु भनेर फेसबुकमा लेख्दा उहाँका साथी र हामीले पनि जिस्कायौं,’ बालेनकी श्रीमती सविनाले भनिन्। काठमाडौंको मेयर पद भनेको कुनै कम्पनीको सिइओजस्तो भन्ने बालेनको तर्क छ। बालेनले विभिन्न मिडियामा दिएको अन्तर्वार्तामा समेत काठमाडौंको मेयर पदलाई राजनीतिसँग तुलना गर्न नमिल्ने बताएका छन्।
प्रकाशित मिति २०७९ बैशाख १७ गते शनिवार १२:३९