सर्लाही ।
स्थानीय तह निर्वाचनअन्तर्गत सर्लाहीको कौडेना गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच पटक–पटक झडप भएपछि एक मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।
कौडेना गाउँपालिका-६, श्री जनता आधारभूत मतदान स्थलमा बिहानदेखि पटक-पटक झडप भएपछि केहीबेर अघिमात्र घटनास्थल सेनाले नियन्त्रणमा लिएको हो ।
मतदान स्थलमा तत्काल आइपुगेको सेनाको टोलीले फायर नगरे पनि हतियार तेर्साएपछि स्थिति तत्काल शान्तिपूर्ण बनेको स्थानीय संचारकर्मी निरज यादवले जानकारी दिए ।
कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद हुँदा झण्डै १ घण्टा अवरुद्ध भएको मतदान कार्य केहीबेर पछि पुनः झडप भएको र सेनाको टोलीले घटनास्थल नियन्त्रणमा लिएको हो ।
गठबन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद भएपछि सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी मावि र वडा कार्यालयको मतदानस्थलका तीन वटै केन्द्रको मतदान रोकिएको छ ।
मतदान प्रक्रियाको विषयमा दुवै पक्षवीच भएको विवादले केही समयको लागि मतदान कार्य स्थगित गरिएको मतदान केन्द्रका मतदान अधिकृत गणेश एडीले बताए ।
एडीका अनुसार भित्र मतदान कार्य शान्तिपूर्ण वातावरणमा जारी रहेपनि बाहिर होहल्ला र हुलदंगा भएपछि मतदान स्थगित भएको हो । मतदान स्थगित हुनुभन्दा अघिसम्म तीन वटै केन्द्रमा २० प्रतिशत मत खसेको थियो ।
प्रकाशित मिति २०७९ बैशाख ३० गते शुक्रबार ०२:०३