काठमाडौं, असार । निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले ६ महिनाको लागि मात्रै मन्त्री बन्छु भनेर पार्टी अध्यक्ष माधवकुमार नेपालसँग सही छाप गरेर मन्त्री नबनेको स्पष्ट पारेकी छिन् ।
मन्त्रीबाट राजीनामा दिएलगत्तै प्राइम टिभीको चर्चित कार्यक्रम जनता जान्न चाहन्छनको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । उनले समाजवादी पार्टीकै कारण आफू मन्त्री बनेको स्मरण गराईन् ।
झाँक्रीले आफू भावुक प्रकृतिको व्यक्ति भएकोले आँशु रोक्न नसक्ने बताईन् । र, यो आफ्नो कमजोरी भएकोले अब ४० वर्ष काटिसकेकोले यो कमजोरी सुध्रिने सम्भावना नरहेको उनको भनाई छ । उनले आजकै दिनमा एमाले र एकीकृत समाजवादीबीच एकताको सम्भावना नरहेको दाबी गरिन् ।
तर, पार्टी एकता वा सहकार्यको सम्भावना भने सधैं जीवित रहेको उनको भनाई छ । उनले आफूलाई मन्त्री बनाउनको लागि भूमिका खेलेको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललाई धन्यवाद दिईन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबारे भने उनले मन्त्री हुँदा टिकाटिप्पणी वा आलोचना नगरेको स्मरण गराउँदै अहिलेपनि उत्तिकै सम्मान रहेको सुनाईन् ।
पाल्पामा रु छ अर्ब बढीको बजेट सार्वजनिक
रामपुर (पाल्पा), १३ असार (रासस) ःपाल्पाका स्थानीय तहले आगामी वर्षको लागि रु छ अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् ।
हालै सम्पन्न नगर तथा गाउँसभामार्फत पालिकाले रु छ अर्ब ४५ करोड १३ लाख २८ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् । जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामध्ये आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि सबैभन्दा धेरै तानसेन नगरपालिकाले रु एक अर्ब ३९ करोड १८ लाख ९३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । तानसेन नगरले चालु खर्चतर्फ रु ७५ करोड ९३ लाख ७५ हजार ९४२ र पुँजीगततर्फ रु ६३ करोड २५ लाख १७ हजार ११२ विनियोजन गरेको छ ।
रामपुर नगरपालिकाले रु ७२ करोड ४७ लाख ९५ हजार रकम विनियोजन गरेको छ । बजेटमा वडागत बजेट रु पाँच करोड २० लाख, सशर्त कार्यक्रम रु ३५ करोड ४४ लाख, क्षेत्रगत कार्यक्रममा रु ३१ करोड ८३ लाख ९५ हजार विनियोजन गरिएको छ । गाउँपालिकातर्फ बगनासकालीले रु ५० करोड १८ लाख २३ हजार, माथागढीले रु ५७ करोड ७४ लाख ९४ हजार, निस्दीले रु ६४ करोड ९८ लाख २५ हजारको बजेट ल्याएको छ ।
पूर्वखोलाले रु ४८ करोड १७ लाख ७४ हजार, रम्भा गाउँपालिकाले रु ५० करोड २९ लाख ८३ हजार, तिनाउले रु ४८ करोड २० लाख ९१ हजार रैनादेवीछहराले रु ६३ करोड ६९ लाख २५ हजार, रिब्दीकोटले रु ५१ करोड २४ लाख २५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
नीति तथा कार्यक्रममा आगामी वर्षका लागि कृषि, पशुपालन, सडक स्तरोन्नति, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार निर्माण, महिला सशक्तीकरणलगायतका विषयलाई पालिकाले प्राथमिकतामा राखेका छन् । सामाजिक सुरक्षा भत्ता, महिला, दलित र विपन्न वर्गका लागि विशेष जोड दिएका छन् । पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रम थप भएका छन् ।
प्रकाशित मिति २०७९ असार १६ गते बिहिबार ०८:३९