टोलटोलमा प्रचण्डको सालिक बनाएर पूजा गर्ने दिन आउँछ : वर्षमान पुन

टोलटोलमा प्रचण्डको सालिक बनाएर पूजा गर्ने दिन आउँछ : वर्षमान पुन

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन ३१ गते मङ्गलबार ०७:३१

काठमाडौँ — नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहालको  टोलटोलमा सालिक बनाएर पूजा गर्ने समय आउने बताएका छन् । १९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको...

काठमाडौँ — नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहालको  टोलटोलमा सालिक बनाएर पूजा गर्ने समय आउने बताएका छन् ।

१९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बास्थित डाँडाकटेरीमा आयोजित कार्यक्रममा पुनले राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रूपमा दाहालको सालिकमा पूजा गर्ने दिन आउने दाबी गरेका हुन् ।

दाहालको नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि वर्षौंदेखिको थिचोमिचो र अत्याचार अन्त्य भएको पुनले बताए ।

गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादव र वर्तमान राष्टपति विद्यादेवी भण्डारीले दाहालसँगको भेटमा पटकपटक आफूहरू राष्ट्रपति हुनुमा माओवादी योगदानको योगदान रहेको भन्दै धन्यवाद दिने गरेको उल्लेख गरे ।

५१ सालको संसदमा ७ जना र ०५६ को संसदमा १२ जना मात्र महिला सांसद रहेको चर्चा गर्दै उनले समावेशी समानुपातिक प्रतिनिधित्वको माओवादी एजेन्डाका कारण हाल हाल संसद्‍मा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताए ।

‘मधेसी जनता, महिला, जनजाति, दलित सबैलाई बोल्न सक्ने र राज्य सञ्चालनको तहमा ल्याउने काम प्रचण्ड नेतृत्वको माओवादीले गरेको हो’, उनले भने, ‘अहिले प्रचण्डलाई धेरै गाली गरेको सुनिन्छ । तर, समाज रूपान्तरण र जागरणका लागि खेलेको भूमिकाका कारण कुनै दिन चोकचोकमा प्रचण्डको सालिक बनाएर पूजा गर्ने दिन आउँछ ।

पुनले दोरम्बा घटना मानवताविरुद्धको अपराध भएकाले संक्रमणकालीन कानुन बनाउँदा त्यस्ता घटनाका दोषीले उन्मुक्ति पाउन नहुने उल्लेख गरे । सरकार–माओवादी शान्तिवार्ता भइरहेका बेला आफ्ना निहत्था कार्यकर्ताको सामूहिक हत्या भएको भन्दै उनले दोषीमाथि कारबाही र परिवारको सम्मान हुनुपर्नेमा जोड दिए ।

माओवादी र सरकारबीच दाङको हापुरेमा दोस्रो चरणको शान्ति वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते तत्कालीन शाही नेपाली सेनाले तत्कालीन रामेछाप जनसरकार प्रमुख बाबुराम तामाङसहित २१ माओवादी कार्यकर्तालाई निशस्त्र अवस्थामा नियन्त्रणमा लिएर सामूहिक हत्या गरेको थियो ।

 

प्रकाशित मिति २०७९ साउन ३१ गते मङ्गलबार ०७:३१
प्रतिक्रियाहरु