नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले पार्टीलाई नै असर गर्ने गरी कुनै पनि गतिविधि नगर्ने स्पष्ट गरेको छ । केन्द्रीय समिति बैठकको सम्मुखमा पार्टी र पार्टी नेतृत्वको सरकारबारे अलग्गै भेला गरेर छलफल गरेका नेता कोइरालाले पार्टीलाई नै क्षति हुने गरी भने कुनै गतिविधि नगर्ने जनाएको हो । यद्यपि कोइराला पक्षका नेताहरूले पार्टी सभापतिको एकलौटी व्यवहारको विरोधमा रहेको प्रतिक्रिया दिए ।
यसअघि गत बिहीबार र शुक्रबार कोइराला समूहले सरकार र पार्टी सञ्चालनमा सभापति देउवाले परामर्श नगरी एकलौटी गरेको भन्दै त्यसको विरुद्व देशभर रचनात्मक विरोधका कार्यक्रम गर्ने घोषणा गरेको थियो ।
कोइराला समूहले पार्टीभित्रै देशभर विरोधका नाममा समानान्तर गतिविधि गर्न लागेको भन्दै त्यस्तो गतिविधिले पार्टीलाई नै हानी पुर्याउन सक्ने भन्दै नेताहरूको आलोचना भएको थियो ।
आइतबारको बैठकपछि नेताहरूले आफ्ना गतिविधिका कारण पार्टीलाई कुनै पनि क्षति नहुने भनेका छन् । केन्द्रीय सदस्य गोविन्द पोखरेलले पार्टीलाई नै क्षति हुने गरी कोइराला समूहले कुनै पनि कार्यक्रम नगर्ने बताए ।
‘हामी पार्टी र सरकार सञ्चालनमा सभापतिजीले एकलौटी गरेको विषयमा गम्भीर छौँ । त्यस्तो प्रक्रियामा पार्टीको महाधिवेशनमा ४० प्रतिशत हिस्सा ओगटेको हाम्रो समूहको अस्तित्वलाई पनि स्वीकारिनुपर्छ भन्ने हो, हामी त्यस्तो एकलौटी व्यवहारको विरोधमा छौँ,’ उनले भने, ‘तर त्यसो भन्दैमा हामीले पार्टीलाई नोक्सान हुने गरी कुनै पनि गतिविधि गर्दैनौँ ।’
उनले आफूहरूका जुनकुनै गतिविधिले पनि पार्टीलाई बलियो पार्नकै लागि मद्दत पुग्ने बताए । ‘हामी पार्टी विधानसम्मत् ढंगले चलोस् । कार्यकर्ता र जनताका माझमा पार्टीप्रतिको विश्वास बढेर जाओस् भन्ने चाहान्छौँ, त्यसका लागि सभापतिजीले ठीक ढंगले काम गरिदिनुस्, जनताको जनजीविकालाई ध्यानमा राखेर काम गरिदिनुस् ।
पार्टीलाई विधानअनुसार चलाउनुस् भन्ने आग्रह हो, खबरदारी हो,’ उनले भने, ‘तर खबरदारी गर्दा पार्टीलाई कुनै नोक्सान हुदैन । नोक्सान हुने काम गर्दैनौँ । पार्टीलाई बलियो बनाउनुपर्छ भन्ने पहिलो मान्यता हो ।’
कोइराला समूहले १४ औँ महाधिवेशनपछि सभापति देउवाले पार्टी सञ्चालनमा नेता कोइराला र कोइराला पक्षीय पदाधिकारीसँग कुनै परामर्श नगरी एकलौटी गरेको आरोप लगाएको छ ।
‘सभापतिको कार्यशैली राम्रो भएन, सबैलाई न्यायोचित हुने गरी पार्टी सञ्चालन होस्, सरकार सञ्चालन होस् भन्ने हाम्रो चाह हो,’ केन्द्रीय सदस्य पोखरेलले भने ।
सरकारको समीक्षा गर्नुपर्ने कोइराला समूहको माग
काठमाडौँ — नेपाली कांग्रेसको शेखर कोइराला पक्षले पार्टीको बैठकमा सरकारका काम कारबाहीको समीक्षा गर्नुपर्ने माग गरेको छ । पार्टी गठबन्धन सरकारको नेतृत्वमा भए पनि आफ्नै पार्टीका कार्यकर्ताले सरकार भएको महसुस नगरेको आरोप लगाएको कोइराला समूहले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सरकारका काम र त्यसको प्रभावबारे छलफल गर्नुपर्ने माग गरेको हो ।
सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । बैठकमा स्थानीय तह निर्वाचनको परिणाममाथि छलफल गर्ने प्रस्ताव छ ।
नेता कोइरालाले भने पार्टीको केन्द्रीय समिति बैठकको सम्मुखमा आफ्नो गुटको अलग्गै भेला राखेर बैठकमा सरकारका काम, त्यसको प्रभाव, मुलुकका वर्तमान समस्या र तिनको समाधानबारे छलफल गर्नुपर्ने माग गरेका हुन् ।
यसअघि गत बिहीबार र शुक्रबार बसेको कोइराला समूहको बैठकले सभापति देउवा सरकार र पार्टी सञ्चालन दुवैतिर असफल भएको निष्कर्ष निकालेको थियो । आइतबारको छलफलपछि नेताहरूले ती नै विषयलाई केन्द्रीय समितिमा उठाउने बताएका छन् ।
विशालनगरस्थित नेता कोइरालाको सम्पर्क कार्यालयमा बसेको कोइराला समूहको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसहित केन्द्रीय सदस्यहरू समेत थिए ।
सभापतिज्यूले महाधिवेशनको छ महिना बित्दासम्म न पार्टीलाई विधानसम्मत् सञ्चालन गर्नुभयो, न त सरकारमै प्रभावकारी काम गर्न सक्नुभएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘ती विषयमा पार्टीको बैठकमा छलफल हुनुपर्छ भन्ने हाम्रो माग हो । हामी बैठकमा ती कुरा उठाउँछौँ ।’
सहमहामन्त्री जीवन परियारले पार्टी सभापति देउवाले महाधिवेशनमा ४० प्रतिशत मत ल्याएको पार्टीभित्र प्रतिपक्षीलाई पेलेर एकलौटी गर्न खोजेकाप्रति गम्भीर रुपमा बैठकमा प्रस्तुत हुने बताए ।
हामीले पार्टीभित्र भाग मागेका छैनौँ । तर सभापतिजीले जस्तो व्यवहार देखाउनुभएको छ, त्यो कुनै राजनीतिक संस्कारयुक्त छैन, उहाँ पार्टीभित्र बिग्रह ल्याएर अर्को पार्टीसँग गठबन्धन गर्ने बाटोमा हुनुहुन्छ,’ उनले भने, ‘हामी पहिले पार्टीभित्रको एकता र त्यसपछि अन्य दलसँगको गठबन्धन चाहान्छौँ ।’
बैठकमा सहभागी केन्द्रीय सदस्य गोविन्द पोखरेलले पार्टीको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक विषयहरू र सञ्चालनमा भएका गल्ती कमजोरीबारे समीक्षा हुनुपर्ने बताए ।
सरकारमाथि भ्रष्टाचारको आरोप छ । मुलुकको अर्थतन्त्र ठीक बाटोमा छैन, अर्थतन्त्रलाई कसरी माथि उकास्ने ? जनताको दैनिकीलाई कसरी सहज बनाउने ? भन्ने विषयहरू पार्टीको बैठकमा उठाउँछौँ, हाम्रो चाहना जनतामाझ सरकार छ भन्ने अनुभूति होस् भन्ने हो,’ नेता पोखरेलले भने ।
बैठकमा नेताहरूले सभापति देउवाले महाधिवेशनपछि विधानतः गर्न नसकेका विभिन्न ११ वटा कामहरूबारे बुँदागतरुपमै छलफल भएको थियो ।
केन्द्रीय सदस्य पोखरेलले अर्थतन्त्र सुधार गर्न सरकारले पहल लिनुपर्ने बताए । ‘श्रीलंका आज जुन हालतमा पुगेको छ, कतै हाम्रो मुलुकको हालत पनि त्यही हुने त होइन भन्ने प्रशंग अहिले उठिरहेको छ । जनताले कांग्रेसले देशको अर्थतन्त्रलाई सधार गर्नुपर्छ भनिरहेका छन्,’ उनले भने, ‘त्यसकालागि सरकारले पहल लिनुपर्छ । बजेट अनुशासन कायम गर्नुपर्छ ।’
उनले बैठकले सभापति देउवालाई पार्टी सञ्चालनमा सबैलाई न्यायोचित हुने गरी अगाडि बढाउन दबाब दिने निर्णय गरेको बताए ।
प्रकाशित मिति २०७९ भदौ ३ गते शुक्रबार १०:३१