बाबुराम भट्टराई चुनाव नलड्ने, छोरीसहित यी ३ नेतालाई मागे सिट

बाबुराम भट्टराई चुनाव नलड्ने, छोरीसहित यी ३ नेतालाई मागे सिट

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ ४ गते शनिवार १०:०३

काठमाडौं- नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा मंसिर ४ को निर्वाचन लड्ने सहमति गरेका नेपाल लोकतान्त्रिक समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले तीन सिट मागेका छन्। मागेका तीन सिटमा भने आफू छैनन्। माओवादी केन्द्रको शुक्रबारको...

काठमाडौं- नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा मंसिर ४ को निर्वाचन लड्ने सहमति गरेका नेपाल लोकतान्त्रिक समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले तीन सिट मागेका छन्। मागेका तीन सिटमा भने आफू छैनन्।

माओवादी केन्द्रको शुक्रबारको बैठकमा डा भट्टराईले सिट मागेकोबारे छलफल भएको थियो। उक्त छलफलमा डा भट्टराईले आफूलाई नमागेर तीन अरु नेताका लागि सिट मागेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका हुन्।

उनको भनाइ उद्घृत गर्दै एक नेताले भने, ‘सहअध्यक्ष महेन्द्र राय यादव, छोरी मानुषी यमी र नवलपरासीमा गोविन्द चौधरीका लागि सिट माग्नुभएको छ।’ यादवका लागि सर्लाही २, यमीका लागि गोरखा २ (सम्भावित) र चौधरीलाई नवलपरासी मागेको उनको भनाइ छ।

आगामी निर्वाचनका लागि आफूलाई प्राथमिकता नदिएर प्रस्ताव गरेको कुरामासमेत स्थायी कमिटीमा कुरा चलेको थियो। ‘मेराबारे सोचे सोच्नुहोस्, नसोचे केही छैन। यी तीन जनालाई चाहियो,’ बाबुरामको भनाइ उद्घृत गर्दै प्रचण्डले भनेका थिए।

एक स्थायी कमिटी सदस्यका अनुसार डा भट्टराई चुनावपछि माओवादी केन्द्रसँगै पार्टी एकता गर्न तयार छन्। त्यसअघि आफ्नी छोरी यमीलाई राजनीतिमा सुरक्षित गर्न उनले चाहेका छन्।

ती स्थायी कमिटी सदस्यका अनुसार छोरीलाई गोरखा २ बाट प्रत्यक्षमा चुनाव लडाएर आफूलाई समानुपातिकमा राखिदिँदा हुने उनको आशय थियो। डा भट्टराई चुनावपछि पार्टी एकीकरण गर्ने कुरामा सहमत छन्।

प्रचण्डसँग उनले प्रधानमन्त्रीदेखि पार्टी अध्यक्षसम्म कुनै पनि कार्यकारी पदमा दाबी नगर्नेगरी सम्झौतासमेत गरिसकेको ती स्थायी कमिटी सदस्यको दाबी छ।source-anurnatimes

प्रकाशित मिति २०७९ भदौ ४ गते शनिवार १०:०३
प्रतिक्रियाहरु