काठमाडौं । सत्ता गठबन्धनमा हुने सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादीले कति सिट पाउने कुनै टुंगो छैन । तर जति सिट पाएपछि झलनाथ खनाल सेफ जोनमा छन् ।
२०४८ सालदेखि इलाम क्षेत्र नम्बर १ बाट आम निर्वाचनमा उम्मेदवारी दिँदै आएका उनी २०५६ सालमा बाहेक निर्वाचित पनि भएका छन् । पूर्वप्रधानमन्त्री खनाल एकीकृत समाजवादीका ‘सम्मानित नेता’ एवं गठबन्धन निर्माणका निर्णायक खेलाडीमध्येका एक हुन् ।
खनालले भने आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुन सक्ने संकेत गरेका छन् । निकट नेताहरुसँग उनले आफू उम्मेदवार नभएको अवस्थामा कसरी जाने भनेर सोच्न सल्लाह दिएका छन् । किनकी उनी राष्ट्रपति बन्ने दौडका लागेका छन् ।
गठबन्धन जोगाएर प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा भाग लिने गृहकार्य गरिरहेका शीर्ष नेताहरु पनि खनाललाई राष्ट्रपति बनाउन तयार देखिएका छन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नै तयार रहेको उच्च स्रोतले जनायो । ‘सत्ता गठबन्धनका तर्फबाट राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गरिएको छ र यसमा लगभग सहमति छ’, ती स्रोत भन्छन् ।
स्थानीय चुनावपछि नेता खनालले कांग्रेस नेतृत्वको गठबन्धन तोड्नुपर्ने धारणा राखेका थिए । वाम शक्तिहरुबीच तालमेल गर्न भन्दै पूर्वप्रधानमन्त्री खनाल नेकपा एमालेका नेताहरुसँग लगातार छलफलमा नै बसे ।
खनाल अहिलेको गठबन्धनको विपक्षमा उभिएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि अलमलमा परेका थिए । उनले राजधानी काठमाडौं आयोजित एक कार्यक्रममा त एमालेविरुद्ध आक्रामक नबन्न कार्यकर्तासँग सार्वजनिक अपील नै गरे ।
तर अहिले एकीकृत समाजवादीका नेताहरुले एमालेसँग छलफल गर्न छोडेको एक पदाधिकारी बताउँछन् । ‘झलनाथ कमरेडले नै गठबन्धनबारे छलफल गरौं भनेपछि पार्टीमा राम्रै छलफल भयो, तर सिट बाँडफाँट गरेरै अगाडि बढ्ने अवस्थामा पुगिसक्यौ’, ती पदाधिकारी भन्छन् ।Source-sagarmathadaily
प्रकाशित मिति २०७९ भदौ ४ गते शनिवार ०९:०८