नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधिले शंका जन्माएको बताएका छन् ।
बिहीबार पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले राष्ट्रपतिको गतिविधिबारे सत्ता गठबन्धनले नियालिरहेको बताए ।
‘अब भोलिका दिनमा सुन्दै जानुहोला । राष्ट्रपतिका बारेमा पनि कुरा आइरहेका छन् । राष्ट्रपतिले जुन ढंगले आर्मीका पूर्व प्रमुखहरुलाई बोलाएर राष्ट्रपति निवासमा भोज दिने काम भयो यसले शंका जन्मायो’, उनले प्रश्न गरे, ‘के गर्न खोजेकी छन् राष्ट्रपतिले ?’
उनले राष्ट्रपतिको कदमले भोलि अनिष्ट हुने त होइन भनेर प्रश्न जन्मिएको बताए । ‘भोलि कतै अनिष्ट त हुने होइन । प्रश्न जन्माएको छ ।
आज बिहान बालुवाटारमा हाम्रा बीचमा यसबारे छलफल पनि भएको छ । यी सबै परिस्थितिका बारेमा निगरानी गरिरहेका छौ’, अध्यक्ष नेपालको भनाइ छ ।
राष्ट्रपति भण्डारीले विभिन्न क्षेत्रका प्रतिनिधिलाई भेट्ने क्रममा बुधबार साँझ पूर्वसैनिक अधिकारीहरूलाई शीतलनिवासमा रात्रिभोज दिएकी थिइन् ।
भेटका क्रममा राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसद्बाट फेरि आयो भने त्यसलाई सम्बोधन गर्न कानुनी विकल्पहरू खोज्ने बताएकी थिइन्।
राष्ट्रपति भण्डारीले बुधबार शितल निवास बोलाएर सैनिक/पूर्वसैनिकसँग भेट गरेकी थिइन्। त्यहाँ बहालवाला प्रधान सेनापति र पूर्वप्रधान सेनापतिहरूलगायत पुगेका थिए।
राष्ट्रपतिले ‘धन्यवाद दिन’ भन्दै पूर्वसैनिक अधिकारीलाई निम्त्याएकी थिइन्, सो क्रममा रात्रीभोज पनि भएको थियो। राष्ट्रपति नेपाली सेनाको परमाधिपतिसमेत हुन्।
राष्ट्रपति भण्डारीले पूर्वसैनिक अधिकारीहरूसँग विभिन्न विषयमा कुराकानी गरेकी थिइन्। प्रतिनिधि सभाबाट हालै दोस्रो पटक पारित नागरिकता संशोधन विधेयकबारे पनि त्यहाँ कुरा उठेको थियो।
राष्ट्रपतिले प्रमाणीकरणका लागि पुगेको नागरिकता संशोधन विधेयक पुन: संसदमै फिर्ता गरे पनि हुबहु प्रतिनिधि सभाबाट फेरि पारित भइसकेको छ भने राष्ट्रिय सभामा पेश हुने तयारीमा छ।Source-anpurnatimes
प्रकाशित मिति २०७९ भदौ ९ गते बिहिबार ०५:१६