काठमाडौं ।
सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने गरेका छन् ।
सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचनपछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाको भनाइ थियो ।
‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले केही दिन भित्र गठबन्धन दलहरुबीच सिट बाँडफाँडको विषयमा टुंगो लाग्ने विश्वास समेत व्यक्त गरे ।
महामन्त्री थापाले गठबन्धन दलहरुबीच सिट बाँडफाँड टुंगिने वित्तिकै उम्मेदवार तय गरेर निर्वाचनको अभियानमा जुट्ने पनि बताए ।
उनले भने, ‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिन पछि निर्वाचनको तयारीमा जुट्दैछौं । अहिले त अव गठबन्धन भन्ने भएकाले गर्दा को, कहाँबाट लड्ने ? त्यसको तालमेल मिलाउँदैछौं ।
अहिले सम्पूर्ण ध्यान त्यसमा छ । केही दिनपछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ । त्यसपछि चुनावी अभियान सुरु हुन्छ । यो पटक निर्वाचन पनि जित्छौं हामी । हाम्रै नेतृत्वमा सरकार पनि बन्छ । त्यसमा पनि कुनै अलमल भएन ।’
महामन्त्री थापाले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहलाई सशक्त बनाउनका लागि पार्टीले केही दिन भित्रै ‘स्थानीय सरकार सवलीकरण तथा अनुगमन ईकाई’ गठन गर्ने बताए । उनले स्थानीय सरकारलाई जनताको पक्षमा काम गराउन पनि पार्टीभित्र सो इकाईको आवश्यक्त रहेको पनि स्पष्ट पारे ।
महामन्त्री थापाले भने, ‘स्थानीय सरकारकै सन्दर्भमा पनि हामीले कोसिस गर्दैछौं–पार्टीमा एउटा डेडिकेटेट र परमानेन्ट इकाई बनाउने भनेर । जसलाई हामी स्थानीय सरकार सवलीकरण तथा अनुगमन ईकाई भनेर पार्टी भित्र राख्न खोज्दैछौं ।
जसले ५ वर्ष स्थानीय सरकारलाई सशक्त बनाउने र जनताको पक्षमा धेरैभन्दा धेरै काम गराउनेछ ।
त्यस्तै महामन्त्री थापाले सरकार बनाउनुभन्दा पनि जनताको पक्षमा काम गर्नु ठूलो कुरा भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक तयारी गरेर अघि बढन आफ्नो पार्टीले काम गरिरहेको पनि बताए ।Source-news24nepal
प्रकाशित मिति २०७९ भदौ १८ गते शनिवार ०३:०७