बालेनको पत्रपछि उठ्यो यति धेरै मनोरञ्जन कर, क-कसले बुझाए ?

बालेनको पत्रपछि उठ्यो यति धेरै मनोरञ्जन कर, क-कसले बुझाए ?

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ २८ गते मङ्गलबार ०२:५४

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा भएको पत्राचारपछि राजश्व जम्मा हुन थालेको छ। लामो समयदेखि मनोरञ्जन कर नतिर्ने कम्पनीहरुलाई महानगरले अल्टिमेटमसहित कर तिर्न पत्राचार गरेपछि ८४ लाख रुपैयाँ कर संकलन भएको हो...

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा भएको पत्राचारपछि राजश्व जम्मा हुन थालेको छ। लामो समयदेखि मनोरञ्जन कर नतिर्ने कम्पनीहरुलाई महानगरले अल्टिमेटमसहित कर तिर्न पत्राचार गरेपछि ८४ लाख रुपैयाँ कर संकलन भएको हो ।

पत्र काटेका ९ मध्ये ६ कम्पनीले कर बुझाएका हुन्। काठमाडौं महानगरले दिनै तोकेर चाँडो कर तिर्न कम्पनीहरुलाई अल्टिमेटम दिएपछि मनोरञ्जन कर संकलन हुनथालेको छ।

महानगरपालिकाका अनुसार काठमाडौं फनपार्क, डेल्टीन क्यासिनो, क्यासिनो प्यालेस, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन हायात, माजोङ इन्टरटेनमेन्ट र बेलिज क्यासिनोले मनोरञ्जन कर तिरेका हुन् ।

यस्तै काठमाडौं महानगरपालिकाले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयलाई बहाल कर बुझाउन पत्रचार गरेको छ । विद्यालयको सम्पती बहालमा दिई आय आर्जन गरेको भन्दै १० प्रतिशत कर बुझाउन विद्यालयहरुलाई परिपत्र गरेको शिक्षा अधिकृत रामप्रसाद सुवेदीले जारी गरेको पत्रमा उल्लेख छ ।

यसअघि नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी १० सहित ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौं महानगरपालिकाको राजस्व विभागले पत्र पठाइसकेको छ।

ती निकायले कामपासँग सोधखोज शुरू गरेको छ । कामपाका अनुसार ती निकायहरूबाट झन्डै ५० करोड रुपियाँ कर उठ्न बाँकी रहेको छ ।

कामपाले पछिल्लो समय भदौ २३ गते बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, नेपाल प्रहरीसहित शंकरदेव, रत्नराज्य, नेपाल ल, सरस्वती, नेपाल कमर्स क्याम्पस, वीर अस्पताल, दशरथ रंगशालालाई १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसार बहाल कर र

सोको जरिवानासहित रकम बुझाउन पत्राचार गर्दै अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको हो ।

चेतावनीपछि अधिकांश निकायले कर तिर्न कामपासँग हिसाबकिताब माग गरेको छ । वर्षाै देखि कर नतिरेका ती संस्थाले तोकेको समयभित्र कर भुक्तानी नगरे व्यवसाय नै बन्द गराउने चेतावनी पनि दिइएको छ ।

Source- anpurnatimes

प्रकाशित मिति २०७९ भदौ २८ गते मङ्गलबार ०२:५४
प्रतिक्रियाहरु