नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् । मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवसमेत निलम्बनमा परेका छन् ।
पार्टीका सहमहामन्त्रीसमेत रहेका चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासन समितिका संयोजक अरुणकुमार यादवले निलम्बन गरेका हुन्।
अनुशासन समितिका संयोजक यादव अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुरनिकट हुन्। बारामा चौधरी र मन्सुर गुटबीच प्रतिष्ठाको लडाइँ चलिरहेको छ। बारा क्षेत्र नं.१ का सांसदसमेत रहेका चौधरीलाई वैशाख ३० को स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको आरोप लागेको थियो।
चौधरीसँगै पूर्व सांसद एवम् कांग्रेसका महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नं. २ का सभापति रामप्रवेश प्रसाद यादवलाई पनि निलम्बन गरिएको छ। बारामा कांग्रेसका दुई वटा समिति नै क्रियाशील भएको अवस्थामा दुवैले एकअर्का पक्षका नेता कार्यकर्तामाथि कारबाही अभियान चलाएका हुन्।
स्थानीय निर्वाचनमा कांग्रेसकै उम्मेदवार हराउन भूमिका खेलेको आरोप लागेपछि उनीहरुमाथि एउटा समूहले कारबाही चलाएको हो। शेरबहादुर देउवानिकट सहमहामन्त्री फरमुल्लाह मन्सुरले एउटा र चौधरीले अर्को गुट चलाउँछन्।
यसअघि चौधरी समूहले मन्सुरनिकट शम्भुबहादुर बुढाथोकीलाई कारबाही चलाएको थियो।
बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र १ (क) को उम्मेदवारका लागि सिफारिस महाधिवेशन प्रतिनिधि बुढाथोकीलाई निलम्बन गरेको पत्र सोमबार बाहिरिएपछि मन्सुर समूहले जवाफी कारबाही चलाएको हो।
चौधरी यसअघि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहमा देउवा सरकारमा मन्त्री बनेका हुन्। दुई नेताबीचको प्रतिष्ठाको लडाइँका कारण संघीय र प्रदेशसभा निर्वाचनका दुवै समूहले अलग अलग उम्मेदवार सिफारिस गरेका थिए।

प्रकाशित मिति २०७९ भदौ २८ गते मङ्गलबार ०८:५७