काठमाडौंले समेत नपत्याएपछि यी हेवी वेट’ नेताहरू जिल्ला फर्किँदै छन् (नामावली)

काठमाडौंले समेत नपत्याएपछि यी हेवी वेट’ नेताहरू जिल्ला फर्किँदै छन् (नामावली)

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज ४ गते मङ्गलबार ११:०३

Kathmandu राजनीतिक ‘करियर’ बनाउन गाउँबाट शहर पसेका केन्द्रीय नेता, कार्यकर्ता यतिवेला गाउँ पस्न थालेका छन्। निर्वाचनताका गाउँ टेकेर आफ्ना मतदातालाई आश्वासनका फोका कसेर पुनः शहर हान्निएका नेताहरु आफूले दिएका बाचाहरु निर्धक्क...

Kathmandu

राजनीतिक ‘करियर’ बनाउन गाउँबाट शहर पसेका केन्द्रीय नेता, कार्यकर्ता यतिवेला गाउँ पस्न थालेका छन्।

निर्वाचनताका गाउँ टेकेर आफ्ना मतदातालाई आश्वासनका फोका कसेर पुनः शहर हान्निएका नेताहरु आफूले दिएका बाचाहरु निर्धक्क फुकाउन नसकेको गुनासोका गहकिला भारी गाउँका मतदातासँग नभएका पनि होइनन्।

तर पनि विकल्पमा अरु को नै छ र? भन्ने प्रश्नसहित उनै मतदाताको मुखबाट सुन्न सकिन्छ। निर्वाचन आउँदैपिच्छे एजेन्डाका भारी बिसाउन पुग्ने नेताहरू फेरि मंसिर ४ गतेका लागि भोट आफ्नो पक्षमा पार्न गाउँतिर हान्निएका छन्।

आफू जन्मेको गाउँको माटो र त्यहाँको गाउँको अव्यवस्थित जीवनशैलीका मुद्दालाई दिएर राजनीतिक यात्राको पहिलो खुड्किला बनाएर गाउँमा समृद्धिका नाराले आफ्नो राजनीतिक जीवन समृद्धिको बाटोमा हिँडाएका धेरै उदाहरणीय नेता छन्।

गाउँको साँगुरो भूगोलबाट राजनीतिलाई ठूलो आकार दिन संघीय राजधानी पसेका उनीहरू अहिले सुविधासम्पन्न राजधानीका साँघुरा गल्लीहरूले उनीहरूको राजनीतिलाई नपत्याउँदा कोही गृहजिल्ला फर्कन बाध्य छन् त कोही निर्वाचन क्षेत्र फेर्न बाध्य भएका छन्।

यसरी संघीय राजधानीले नपत्याएकामध्ये नेकपा एमालेका सचिव योगेश भट्टराई पनि एकजना प्रतिनिधि पात्र हुन्। ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभारसमेत सम्हालिसकेका छन्। ​एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियूको केन्द्रीय अध्यक्षसमेत भइसकेका उनी दुई पटक पार्टीको सचिव बनेका थिए।

उनले ०६४ र ०७० को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र ६ बाट पराजय बेहोरेका थिए। काठमाडौंलाई कर्मथलो बनाएर राजनीतिमा सुनौलो भविष्य खोज्दै पुगेका भट्टराईले काठमाडौंका जनताको माया भने पाउन सकेनन्।

अन्ततः उनलाई आफू जन्मे हुर्केको भूगोल र त्यहाँका जनताले अगाध प्रेम गरे। दुई पटक हार बेहोरेका योगेशलाई आफ्नो गृहजिल्लाका मतदाताले हार्न दिएनन्। उनले ०७४ को निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी केशव दहाललाई हराउँदै २९ हजार ४७९ मत ल्याएर विजयी बनेका थिए।

निर्वाचनताका वा कुनै काम विशेषले गृहजिल्ला पुग्ने भट्टराईलाई उनकै दलका कतिपय नेताले ताप्लेजुङको ‘टुरिष्ट’ नेता भन्ने पनि गरेका छन्। ०४७ मा ताप्लेजुङका जनताले रोजेका भट्टराईलाई यो पटक आफ्नै दल अर्थात एमालेका पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोले आउने निर्वाचनको मैदानमा चुनौती दिइरहेका छन्। पछिल्लो समय गृहजिल्ला केन्द्रीकृत भएका भट्टराईलाई यो पटकको निर्वाचनमा जित हासिल गर्न निक्कै सकस पर्ने उनकै जिल्लावासीहरूको भनाई छ।

तेह्रथुममा जन्मेका एमालेका अर्का नेता भूगोलको राजनीतिबाट टाढा रहेर काठमाडौं बसेर राजनीतिक गरिरहेका नेता भानुभक्त ढकालले पनि आफ्नो राजनीतिक भविष्य सुरक्षित राख्न काठमाडौं छाडेर मोरङ रोजे।

०७४ को वाम गठबन्धन भएर चुनावी मैदानमा उत्रिएको समय आफ्नो मत सुरक्षित हुने भएपछि उनी मोरङ क्षेत्र ३ मा आएर निर्वाचन लडेका थिए। अघिल्लो निर्वाचनमा टुरिष्ट नेताको आरोप खेपेका उनी मोरङ क्षेत्र ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

ढकालले नोबेल मेडिकल कलेजका सञ्चालक नेपाली काँग्रेसका सुनिलकुमार शर्मालाई हराएका थिए। उनले ४२ हजार ४ सय १ मत ल्याएर शर्मालाई पराजित गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पदभार सम्हालिसकेका उनीमाथि कोरोनाका समयमा चिकित्सा उपकरण खरिदमा राज्यको कोष हिनामिना गरेको आरोप छ। अघिल्लो निर्वाचनमा टुरिष्ट नेताको आरोप खेपेसँगै यतिवेला उनी सुन्दरहरैंचामा घर बनाइरहेका छन्।

प्रकाशित मिति २०७९ असोज ४ गते मङ्गलबार ११:०३
प्रतिक्रियाहरु