म्याग्दी – दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले तयार गरेको सेटिङ तथा भर्ती केन्द्रहरु भत्किन थालेको बताएकी छन् । नेकपाको प्रचण्ड–नेपाल निकट जनवर्गीय सङ्गठनहरुले आइतबार म्याग्दीको बेनीमा आयोजना गरेको विरोध सभामा बोल्दै प्रधानमन्त्रीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत राज्यका सबै संवैधानिक अङ्गहरुलाई आफ्ना गुटका कार्यकर्ता भर्ती केन्द्र बनाएर गरेको ‘सेटिङ’ भत्किन थालेको बताएकी हुन् ।
भेलालाई नेकपाका जिल्ला अध्यक्ष गोविन्द पौडेल, कार्यालय सदस्य बालकृष्ण सुवेदी, प्रदेश कमिटी सदस्य तथा सांसद विनोद केसीलगायत नेताले सम्बोधन गरेका थिए । प्रतिनिधिसभा विघटनको विरोध, संसद् पुनःस्थापनाको माग र संवैधानिक निकायको पदाधिकारी नियुक्ति खारेजको माग गर्दै बेनीमा विरोध प्रदर्शन गरेका हुन् ।
यसलाई म्याग्दीका प्रचण्ड–नेपाल समूहका नेताहरुले आफ्नो शक्ति प्रदर्शन भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालय अगाडिको चोकदेखि सुरु भएको विरोध र्याली जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो । रासस
प्रकाशित मिति २०७७ माघ २६ गते सोमबार ०९:५२